असोज ११, पोखरा ।
पोखरा नदिपुर स्थित बुधबारबाट सुरु भएको भलिबल प्रतियोगिता अविरल वर्षाका कारण २ दिन पछि हुनेगरी सरेको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा सञ्चालित क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता यही असोज १३ गते आइतबारबाट निरन्तरता हुने गरी शुक्रबार र शनिबारको प्रतियोगिता स्थगित गरिएको आयोजकले जानकारी गराएको छ ।
पोखरा भलिवल प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठ, अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल) र कार्यक्रम संयोजक मनोज खड्काले संयुक्त हस्ताक्षर सहित आज एक विज्ञप्ती प्रकाशित गरी जानकारी गराएका थिए ।
विज्ञप्तीमा, आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ अविरल बर्षाका कारण मिति स्थानान्तरण गरिएको छ । मिति २०८१÷०६÷१३ गतेदेखि नियमित रुपमा भलिबल खेल तालिका एवम् कार्यक्रमहरु सञ्चालन हुने व्यहोरा जानकारी गराउँदछौं । यसबाट पर्न गएको असुविधाप्रति मुल आयोजक समिति क्षमा याचना व्यक्त गर्दछौं ।, उल्लेख गरिएको छ ।
प्रतियोगितामा ७ खेल सम्पन्न भइसकेका छन् । पुरुषतर्फ ५ खेल र महिलातर्फ २ खेल सकिएका हुन् ।
प्रतियोगिताको सेमी फाइनल सोमबार र फाइलन खेल मंगलबार हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्यालले जानकारी गराए ।