मंसीर १५, पोखराः पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।
पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आइतबार भएको महिलातर्फको फाइनल खेलमा झिर हाउस बागलुङले लालीगुराँस लामाचौरलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
बागलुङले पहिलो र दोस्रो सेट २५–११, २५–२१ ले जितेपनि तेस्रो सेट २६–२८लामाचौरलाई सुम्पियो । चौथो सेट बागलुङले २५–२१ ले पूनरागमन गर्दै लामाचौरलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
उपाधि जितेको बागलुङले ६० हजार र उपविजेता लामाचौरले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै पुरुषतर्फ भने, बोहोराफाँट समाज जापान गलकोटले नरेठाँटी युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।
बोहोराफाँटले नरेठाँटीलाई २८–२६, २५–२०, २०–२५ र २५–१९ ले पराजित गर्दै नवौं संस्करणको उपाधि जित्न सफल भएको हो ।
उपाधि विजेता बोहोराफाँटले १ लाख ५० हजार र उपविजेता नरेठाँटीले १ लाख रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरे । यस्तै सेमिफाइनलमा पराजित भएका एपिएफ पोखरा र ठकुरी समाज तनहुँले २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।
निशा र रेशम सर्वोत्कृष्ट खेलाडी घोषित
क्लबस्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ झिर हाउसका निशा चौधरी सर्वोत्कृष्ट खेलाडी,झिर हाउसका सोइङ थापा उत्कृष्ट सर्भर, लामाचौरका पुजासेन ठकुरी उत्कृष्ट स्पाइकर, झिर हाउसका निरु पुन उत्कृष्ट सेटर, लामाचौरका रिकजना बोटे उत्कृष्ट ब्लकर , वालिङ भलिबलका सलिना गुरुङ उत्कृष्ट डिफेण्डर घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।
यस्तै पुरुषतर्फ बोहोराफाँटका रेशम छन्त्याल सर्वोत्कृष्ट खेलाडी, बोहोराफाँट समाज जापानका विवश आलेर मगर उत्कृष्ट सेटर, बोहोराफाँटका रवि केसी उत्कृष्ट स्पाइकर, नरेठाँटीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, बोहोराफाँटका कुञ्जन शाही ठकुरी उत्कृष्ट डिफेण्डर, नरेठाँटीका दिप्सन ठकुरी उदियमान खेलाडी घोषित भए । सर्वोकृष्ट खेलाडी घोषित भएका निशा चौधरी र रेशम छन्त्यालले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवम् सचेतक प्रकाश बरालले ठूला कुरा गर्ने काम केही नगर्ने भइरहेको बताउँदै पोखरा भलिवल प्रशिक्षण केन्द्रलाई आवश्यक सहयोगको लागि सदैव साथ रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसै गरी संस्थाका संरक्षक पदम श्रेष्ठले स्वागत तथा संस्थाको स्थापनाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै संरक्षक श्रेष्ठले “शारीरिक, मानसिक तथा सामाजिक रूपमा सक्षम र प्रतिभावान खेलाडी उत्पादन गर्दै राष्ट्रिय खेल भलिबलको उन्नतिमा यस संस्थाले पु¥याएको भूमिकाप्रति हामी गर्व गर्दछौँ,” भने ।
खेलकुद क्षेत्रको मात्र उन्नति होइन, स्वस्थ समाज, अनुशासित युवा, र उज्ज्वल भविष्य निर्माणमा पनि प्रेरणादायी भूमिका खेलोस् भन्ने उनले कामना व्यक्त गरेका थिए ।
कार्यक्रममा ज्ञानुवावाका प्रिन्सिपल शुभकन्या गुरुङ र महिला भलिबलकी बरिष्ठ प्रशिक्षक कौशिला खत्रीलाई सम्मान पत्र, दोसल्ला र मालाले सम्मान गरिएको थियो ।


अशोक थापाले सञ्चालन गरेको कार्यक्रम कार्यक्रम संयोजक तथा प्रशिक्षक मनोज खड्काले समापन गरेका थिए भने कुलप्रसाद छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।
२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।







