पोखरा, ६ वैशाख ।
ग्लोबल कलेजियट स्कुलले कक्षा १ का विद्यार्थीहरुका अभिभावक राखेर अभिमुखिकरण कार्यक्रम गरेको छ ।
विद्यार्थीहरूको चौतर्फी विकास र विद्यालय तथा अभिभावकबीचको प्रभावकारी सहकार्यलाई जोड दिँदै उक्त कार्यक्रम विद्यालय प्राङ्गणमा आज भएको सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कलेजियटका प्रिन्सिपल बाबुराम पन्तले विद्यार्थीका लागि भयरहित वातावरणमा सिकाइ हुनुपर्नेमा जोड दिए । उनले अभिभावक एवम् शिक्षकहरूलाई बालबालिकाको मनोविज्ञान बुझ्न र उनीहरूलाई सक्रिय रूपमा सहभागी गराउन आग्रह गरेका थिए । “हामीले परम्परागत शिक्षणका राम्रा पक्ष र नयाँ अभ्यासहरूलाई सन्तुलनमा राखेर दीर्घकालीन सिकाइमा जोड दिएका छौँ,” उनले भने ।
प्रिन्सिपल पन्तले बालबालिकालाई सकेसम्म ट्युसन नपढाउन भन्दै उनले ट्युसनलाई बिरामी पर्दा खाने ’औषधि’ सँग तुलना गरेका थिए । वालवालिकाहरुलाई आफ्नो काम आफैं गर्न सिकाउन सुझाव दिनुका साथै अभिभावहरुले कम्तिमा १ घण्टा समय दिन अनुरोध गरेका थिए ।
साथै, विद्यालयमा नयाँ भवन बन्न लागेको र आगामी दिनमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विद्यालयलाई काम गर्ने र सिक्ने थलोका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले जानकारी गराएका थिए ।
त्यसैगरी पूर्व प्राथमिक तहकी संयोजक एवम् शिक्षिका बिमला आलेले विद्यालयका वार्षिक क्रियाकलापहरूको योजनाबारे जानकारी गराएकी थिइन् । सहसंयोजक एवम् शिक्षिका लक्ष्मी परियारले अभिभावकहरूलाई स्वागत गरेकी थिइन् । भने अभिभावकहरूले पनि विद्यालयको शैक्षिक पद्धति र सुधारका पक्षमा आफ्ना धारणाहरू राखेका थिए ।
शिक्षिका पवित्रा केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रिन्सिपल बाबुराम पन्तको अध्यक्षतामा भएको थियो ।









