पर्वत ।
पर्वतको फलेवास नगरपालिका–३, शंकरपोखरीबाट देशको राजधानी काठमाडौँसम्मको सिधा यात्राका लागि मिनि बस सेवा सञ्चालनमा आएको छ । विगत लामो समयदेखि सिधा यातायातको पहुँच नहुँदा सास्ती खेपिरहेका स्थानीय बासिन्दाहरूको मागलाई सम्बोधन गर्दै यो सेवा सुरु गरिएको हो।
सञ्चालक श्रीकृष्ण श्रेष्ठ अनुसार, स्थानीयहरूको आवश्यकता र सहजतालाई ध्यानमा राखेर नयाँ वर्ष वैशाख १ गतेदेखि नियमित रूपमा बस सञ्चालन गरिएको हो । यात्रुहरूको चाप बढ्दै गएपछि सेवालाई थप प्रभावकारी बनाउन अहिले थप गाडी समेत विस्तार गरिएको सञ्चालकहरूले जानकारी दिएका छन् ।
विगतमा सिधा बस सेवा नहुँदा स्थानीयले धेरै सास्ती खेप्नुपरेको र अहिले घरकै दैलोबाट काठमाडौँसम्म पुग्न पाउँदा स्थानीय हर्षित भएको सञ्चालक सुन्दर श्रेष्ठले बताए । उनले यात्रुहरूको सहजताका लागि छिट्टै विभिन्न स्थानमा सम्पर्क कार्यालयहरू समेत स्थापना गरिने जानकारी दिए ।
यात्रालाई थप सहज र प्रभावकारी बनाउन वैशाख १ गतेबाट सञ्चालनमा आएको बस सेवा शंकरपोखरीबाट बिहान ६ः३० बजे र कार्कीनेटाबाट बिहान ७ः३० बजे पोखरा हुँदै काठमाडौँका लागि बस छुट्नेछ । यात्रुहरूको चाप र सुविधालाई ध्यानमा राख्दै हाल सो रुटमा थप गाडी समेत विस्तार गरिएको छ ।
त्यस्तै, काठमाडौँबाट पनि बिहान ७ः३० बजे नै शंकरपोखरीका लागि बस प्रस्थान गर्ने सञ्चालकहरुले जानकारी गराइएका छन् ।
त्यसैगरी पोखराबाट शंकरपोखरी, थापाठाना, कार्कीनेटा र स्याङ्जा नौडाँडा जान चाहने यात्रुहरूका लागि पृथ्वीचोकस्थित कुन्तीमलको एक घर माथि होटल मित्रबाट दिउँसो ३ः०० बजे गाडी छुट्ने व्यवस्था मिलाइएको छ । सुरक्षित र भरपर्दो यात्राका लागि सञ्चालकहरूले सम्पूर्णमा अनुरोध गरेका छन् । टिकट तथा थप जानकारीका लागि सम्पर्क श्रीकृष्ण श्रेष्ठ ९८४६११६४६६, सुन्दरकुमार श्रेष्ठ ९८५६०४८२९९ र पदम श्रेष्ठ ९८५६०२९३१७ मा सम्पर्क गर्न सकिने सञ्चालकहरुले जानकारी गराएका छन् ।
यो सिधा बस सेवाले पर्वतको शंकरपोखरी र आसपासका ग्रामीण क्षेत्रका बासिन्दाहरूको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।








