नेपाल पत्रकार महासंघको एशोसिएट प्रदेश समितिले दुई जना खेल पत्रकारलाई सम्मान गरेको छ । शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा खेल पत्रकारद्वय श्याम चित्रकार र जीतु साउदलाई सम्मान गरेको हो ।

एशोसिएट प्रदेश समितिले ७० वर्ष उमेर पार गरेर सक्रिय पत्रकारितामा आबद्ध चित्रकारलाई पत्रकारिता सम्मान र साउदलाई कोराना संकट सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । दुवैले सम्मानसहित ताम्रपत्र प्राप्त गरे ।

कोरोना संकटमा सक्रिय पत्रकारिता गरेका खेलकुदबाट साउदसहित चलचित्रबाट रिना मोक्तान, कार्टुनबाट विरोचन मल्ल ठकुरी, फोटोबाट चन्द्रबहादुर आले, आर्थिकबाट मेनुका कार्की, राजनीति तथा सामाजिकबाट गोविन्द मरासिनी सम्मानित भए । सबैले सम्मानसहित १० हजार रुपैयाँ नगद प्राप्त गरे ।

कार्यक्रममा एशोसिएट संस्थामा आबद्ध ७० वर्ष नाघेका पत्रकारलाई पनि सम्मान गरिएको थियो । जसमा चित्रकार सहित गेहेन्द्रमान अमात्य, मोहनश्याम खोकना र समज्ञ लाकौल सम्मानित भएका छन् ।

कार्यक्रमा प्रमुख अतिथि रहेका अर्थमन्त्री जनार्दन शर्माले पत्रकारको सुरक्षाका लागि राज्यले आवश्यक कदम चाल्ने आश्वासन दिए । पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले संकटपूर्ण अवस्थामा रहेको पत्रकारिता र सञ्चार संस्थामा राज्यको तर्फबाट दायित्व र भूमिका बढाउन आग्रह गरे ।