काठमाडौं । पोखरा राइनोजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि दुई श्रीलंकन खेलाडीलाई पनि अनुबन्ध गरेको छ । श्रीलंकन अलराउण्डर खसेला गुनारत्ने र साहान अराससिगेले यही असोज ९ देखि २३ सम्म आयोजना हुने ईपीएल खेल्ने भएका हुन् ।

दायाँ हाते अलराउण्डर गुनारत्नेले सन् २०१६ मा भारतविरुद्ध टी२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने सोही वर्ष जिम्बाब्वेविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय र टेष्टमा पनि डेब्यु गरेका थिए ।

गुनारत्नेको आगमनले पोखराको बलिङ र ब्याटिङ अझ सुदृढ भएको पोखराले जनाएको छ ।

गुनारत्नेले श्रीलंकाका लागि ६ टेष्ट, ३१ एकदिवसीय अन्तर्राष्ट्रिय र १२ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले कुल ७५ टी२० खेल्दा ५० विकेट लिएका छन् भने ११८.०७ को स्ट्राइक रेटमा १ हजार ३९८ रन बनाएका छन् ।

यस्तै पोखराले अनुबन्ध गरेका अर्का २५ वर्षीय अराससिगे पनि अलराउण्डर हुन् । राष्ट्रिय टिमबाट नखेलेपनि उनले ३४ टी२० म्याच खेलेका छन् । जसमा उनले १२७.२२ को स्ट्राइक रेटमा ४५८ रन बनाएका छन् ।

श्रीलंकन दुई अलराउण्डरसहित नेपालकै विवेक यादव पोखराको अलराउण्डरको रुपमा छन् ।

पोखराले यसअघि नै दक्षिण अफ्रिकाका ब्याट्सम्यान रिचर्ड लेभी र वेष्ट इन्डिजका बलर केसरिक विलियम्सलाई अनुबन्ध गरिसकेको छ ।