पर्वत ः उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन नजिकिदै गर्दा प्रजातान्त्रिक पक्षबाट शिव शर्मा पौडेलको अध्यक्षतामा साझा प्यानल सार्वजनिक गरेको छ।
यही चैत ७ गते हुन लागिरहेका संघको १७ औँ अधिवेशनको लागि लामो समयसम्म व्यापार व्यवसायमा आवद्ध रहेका व्यवसायीहरुले व्यवसायिक साझा समूह बनाएर उम्मेद्वारीको घोषणा गरेका हुन्।

पर्वत जिल्लाका विभिन्न स्थानमा रही फरक–फरक व्यवसायमा संलग्न रहेका व्यवसायीहरुले उमेद्वारी दिने भएका हुन्। प्रजातान्त्रिक पक्षले ‘संस्थामा सुशासन ः व्यवसायमा आधुनिकीकरण’ भन्ने नाराका साथ सबैको साझा प्यानल बनाएको अध्यक्ष पदमा उमेद्वार शिव शर्माले बताएका छन्। विधि, पद्धति, पारदर्शिता जस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आत्मसात गर्दै पर्वत उद्योग वाणिज्य संघको नेतृत्वमा उद्यमी व्यवसायीको हकहितका लागि उम्मेदवारी रहेको त्यसमा विभिन्न फरक फरक क्षेत्रबाट प्रतिनिधित्व रहेको पनि व्यवसायीहरुले बताएका छन् ।

एक औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष पदका उमेद्वार पौडेलले भने ‘मैले यो वा त्यो भनेर कहिलै पनि कसैलाई काखा कसैलाई पाखा गर्ने काम गरेको छैन, हरेक व्यवसायको प्रवद्र्धन हुनुपर्छ भनेरै मैले समान रुपमा काम गर्दै आइरहेको छु । धेरै साथीहरुले मेरो नेतृत्वमा रहेको उद्योग वाणिज्य संघको टीमलाई हेर्न खोज्नुभएको छ । फरक राजनीतिक दलमा आस्था राख्ने साथीहरुले समेत अबको नेतृत्व तपाइले नै गर्नुपर्छ भनेर समेत साथ दिनुभएको छ ।’
शर्मा लामो समयदेखि व्यवसायिक रुपमै सक्रिय रहेका उम्मेद्वार पौडेलले आफू आवद्ध रहेको ठाउँमा हरेक पटक व्यवसायीको हक हितको पक्षमा काम गर्दै आएको बताए। कोरोना कहरका कारण लामो समयसम्म बजार बन्द हुँदा धारासायी बनेका जिल्लाका उद्योग व्यवसायी सहित अन्य सबै व्यवसायीको प्रबद्र्धनको लागि आफूले विभिन्न योजना बनाएको सुनाए ।

नेपाली काँग्रेस पर्वतका सचिव अशोक उचै ठकुरीका अनुसार फागुन १८ गते बसेको बैठकले पौडेललाई अध्यक्ष पदका उम्मेद्वार बनाउने निर्णय गरेको हो । उनले भने – ‘हामीले पार्टीमा आपसी छलफल गरेर हाम्रो तर्फबाट साझा उम्मेद्वारको रुपमा शिव शर्मा पौडेललाई नै उठाउने निर्णय गरेका छौँ,’ ‘पौडेल जी लामो समयदेखि उद्योग तथा वाणिज्य क्षेत्रमा सक्रिय रहनुभएको छ । पर्यटन व्यवसायमा पनि उहाँको योगदान छ । उहाँको नेतृत्वमा बनेको प्यानलले आम व्यवसायीको हकहित संरक्षण सहित व्यवसाय प्रबद्र्धन गर्नमा उल्लेखनीय भूमिका खेल्ने छ ।’

अध्यक्ष पौडेल रहेको प्रजातान्त्रिक पक्षमा महिला सदस्य पदका उम्मेद्वारमा अनिता मल्ल के.सी र पशुपति कार्की शर्मा (पूजा) तथा सदस्य पदका उम्मेद्वारमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, सुवर्ण अर्याल, कृष्णप्रसाद शर्मा, शम्भु जोशी, योगराज गिरी (बद्री), रामु शर्मा, शिव श्रेष्ठ, लक्ष्मण शर्मा, लोकनाथ अधिकारी, राजकुमार बस्नेत, विनोद आचार्य, शिवराज शर्मा, श्रीप्रसाद पौडेल, दिनेश श्रेष्ठ, राजु शर्मा, गणेश पौडेल टु आर जी, विज्ञान बम मल्ल र मोहन आचार्य रहेका छन् । उम्मेद्वारहरुलाई नेपाली काँग्रेस उद्योग वाणिज्य विभागका केन्द्रिय सदस्य विप्लव हमालले सार्वजनिक गरेका थिए ।

पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरि प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम जलजला उपशाखाका अध्यक्ष चित्रराज रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने निर्वाचनमा सदस्य पदमा उठेका युवा व्यवसायी मोहन आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।