पोखरा, २ वैशाख ।
कार्कीनेटा सम्पर्क समाज पोखराले नयाँ वर्ष २०८३ को वार्षिक भित्ते पात्रो (क्यालेण्डर) विमोचन गरेको छ । आज पोखराको सिद्धार्थ चोकस्थित चन्दन रेष्टुरेण्टमा आयोजित एक कार्यक्रमका बीच उक्त पात्रो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हरिप्रसाद शर्माले भित्तेपात्रो प्रकाशन नियमित कार्य भएको बताए । उनले यसबाट हुने बचत रकमले कोष वृद्धि गर्ने तथा दुःखी, गरिब र असहायहरूको सहयोगका साथै अन्य सामाजिक कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा ’कार्कीनेटा विशेष स्मारिका’ समेत प्रकाशन गर्ने जानकारी गराए । अध्यक्ष शर्माले भित्तेपात्रो प्रकाशनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद समेत दिएका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष केशव घिमिरे, सल्लाहकारहरू इन्द्रप्रसाद शर्मा, गोविन्द शर्मा, अमृत पौडेल, सीता शर्मा, उषा शर्मालगायत विभिन्न पदाधिकारी एवं सदस्यहरूले नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गरे । उनीहरूले संस्थाका तर्फबाट गरिने सामाजिक कार्यले कार्कीनेटाबाट पोखरा आई बसोबास गर्नेहरूबीच एकता र आपसी सद्भाव बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शिवप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सचिव शेषकान्त शर्माले सञ्चालन गरेका थिए ।
संस्थाले हरेक वर्ष आफ्ना सदस्यहरूलाई लक्षित गरी विभिन्न सूचना तथा चाडपर्वहरू समेटिएको भित्ते पात्रो प्रकाशन गर्दै आइरहेको छ ।








