शुक्रबार विप्लप र ओलीको संयुक्त सम्बोधन

काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द समूहसँग बिहीबार ३ बुँदे सहमति भएको छ ।
सहमतिमा नेपाल कम्प्युनिष्ट पार्टी ले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दिहरुको रिहाई र मुद्धा खारेजीलगायतका विषयहरु समेटिएका छन्।
बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रका सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
सहमतिको विस्तृत विवरण भने शुक्रबार दिउँसो आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिने प्रेस नोटमा लेखिएको छ।
शुक्रबार हुने समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपामा महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् ।
यता गृह मन्त्रालयले बुधवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको बताइएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई बिहिबारसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ ।
‘प्रमुख जिल्ला अधिकारीले हेरेका मुद्दाका बन्दीलाई छाड्न सर्कुलर गरिएको छ’ गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले ‘भोलिसम्म छाड्न भनिएको छ, उहाँहरुले आफ्नो प्रक्रिया हेरेर गर्नुहुन्छ ।’