पोखराः कुर्घा पोखरा सम्पर्क समाजको दोस्रो वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार हेम्जामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले कार्यक्रममा बोल्दै शर्माले पर्वतेलीहरुको पोखरा दोस्रो घर भएको बताउँदै पोखरामा विभिन्न व्यापार, व्यवसायमा छरिएर बसेका सम्पूर्णलाई गोलबद्ध गरी संगठित भइ उमंगका साथ रहनको लागि सम्पर्क समाज आवश्यक भएको बताए। उनले समाज मार्फत भैपरी आउने घटना र समस्याहरुलाई सहजै समाधान गर्न सकिने हुँदा ११ वटै वडाका फलेवासवासीहरुले पोखरामा सम्पर्क समाज राखी फलेवास नगर पोखरा सम्पर्क समाज गठन गर्न अनुरोध गरेका थिए।
कार्यक्रममा बोल्दै शर्माले फलेवास नगरपालिकालाई मानव सभ्यताको विकास गर्नुपर्छ भनी “क्लिन फलेवास, ग्रिन फलेवास”को अवधारणा ल्याएको बताए। “बाच्छादेखि ढुंगेठाटी सम्म फैलिएको नगरपालिका विकासको बाटो तर्फ अगाडि बढेको छ। शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार र यातायातलगायतका विकाशका क्षेत्रलाई गुरुयोजना बनाई काम गरिएको छ। नगरवासीहरु शहर केन्द्रीत नभई गाउँमा नै बस्ने वातावरण बन्ने छ” उनले भने। नगरमा विकास योजनाहरु सञ्चालन भइरहेको हुँदा सल्लाह र सुझाव दिनको लागि नगरप्रमुख शर्माले आग्रह गरेका छन्।
उक्त कार्यक्रममा कुर्घा पोखरा सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक धनप्रसाद पौडेलले संस्थाको उद्देश्य र गतिविधिका बारेमा प्रष्ट पारेका थिए भने उपस्थिति सम्पूर्णलाई स्वागत गरेका थिए।
त्यसैगरी समाजका कोषाध्यक्ष नवराज पौडेलले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। करिब ८० जना कुर्घावासीहरुको उपस्थितिमा भएको कार्यक्रममा घैटो फुटाइमा उत्कृष्ट हुने सरिता सुवेदी, म्युजिकल चियरमा उत्कृष्ट हुने देवीकुमारी शर्मा (गौरी), मनोनित सदस्य कैलाश राना र आजीवन सदस्यहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
कुर्घा पोखरा सम्पर्क समाजका सचिव सूर्यराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्थानीय कलाकार दण्डराज कँडेल गित गाएर मनोरञ्जन प्रदान गरेका थिए। समाजका अध्यक्ष गणेश बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।