फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरवासीहरुलाई अब स्वास्थ्य उपचारमा ढुक्क हुन आग्रह गरेका छन्।
फलेवास नगर अस्पतालको उद्घाटनको क्रममा नगर प्रमुख शर्माले नगरवासीहरुलाई उपचार नपाएर अकालमा मृत्यु हुने वातावरण सृजना अब नहुने बताए। पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा मंगलबार फलेवास नगर अस्पतालको स्थापना भएको छ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिका अब स्वास्थ्य क्षेत्रमा पनि फड्को मारेको बताए। स्वास्थ्य भनेको मानव जिवनमा सबैभन्दा महत्वपूर्ण रहेको र उपचार नपाएर अकालमा कसैको ज्यान नजाओस् भनी नगरपालिकामा अस्पताल सञ्चालन गरिएको बताए। अन्य केही वडामा समेत स्वास्थ्यचौकीहरु सञ्चालनको क्रममा रहेको उनले जानकारी गराएका छन्।
“स्वास्थ्य उपचारबाट बञ्चित भएका नगरवासीलाई अब केही मात्रामा भएपनि नगर अस्पतालले मलम लगाउछ। नगरपालिकाले १० सैयाको अस्पताल सञ्चालनमा ल्याएको र केही महिनामा नै दन्त सेवा सुरु गर्न लागेको छ।” प्रमुख शर्माले भने।
अस्पताल बनाउनको लागि १० करोड ६३ लाख नेपाल सरकारको सहयोग बनेको र आवश्यक सामाग्री खरिद तथा कर्मचारी व्यवस्थापनमा फलेवास नगरपालिकाले सहयोग गरेको फलेवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी गराए। अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एकजना कार्यालय सहयोगी रहने समेत उनले बताए।
स्वास्थ्य शाखा विभागका बैकुण्ठ राज गौत्तमका अनुसार अस्पताललाई एक लाख ५० हजारको औषधी, चार लाख ४९ हजारको बेड र २५ हजार बरावरको अन्य उपकरण सहितको सामग्री वितरण गरेको छ । स्वास्थ्य शाखा विभागवाट ६ लाख भन्दा बढि मूल्य बराबरको स्वास्थ्य सामग्री नगरप्रमुख शर्मा मार्फत हस्तान्तरण गरिएको गौतमले बताए।