पोखरा, ४ फागुन । शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेँसीमा यही पुसदेखि सञ्चालनमा आएको विशेष स्वास्थ्य सेवा केन्द्रमा करिब ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।
समाजसेवी लेखनाथ पन्थी तथा अनिल पन्थीले उपलब्ध गराउनुभएको स्वास्थ्य सामाग्री एक कार्यक्रमकाबीच आज महिला स्वास्थ्य स्वयं सेविका मधुमाया पन्थीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एवम् शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज पहुँचका लागि सेराबेँसीमा विशेष स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । केन्द्रबाट हाल हप्तामा दुई पटक सेवा प्रवाह भैरहेको बताउँदै उनले आगामी दिनमा यहाँबाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको बताए । केन्द्रबाट प्रत्येक हप्ताका सोमबार र बिहीबार एक जना अहेब तथा एक जना अनमीले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।
शिवशक्ति महिला समूहका अध्यक्ष अनिशा भुजेलको सभापतित्व एवम् नरेशचन्द्र भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्य सुशिला कमर, स्वास्थ्य चौकी इन्चार्ज रियाद अन्सारी, नेपाली काँग्रेसका नेता खेमराज अधिकारी लगायतले बोलेका थिए।