“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ स्व. महेश स्मृति कप फागुन १२ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ।
स्व. महेश खड्काको सम्झनामा युनाइटेड पोखरा क्लब कास्कीले “क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०७७” आयोजना गरेको हो। स्व.खड्का राष्ट्रिय भलिबल खेलाडी समेत रहेका थिए। उनि कलिलो उमेरमा नै स्थानीय, क्षेत्रीय हुँदै राष्ट्रिय भलिबल खेलमा सहभागी भई भलिबल खेलमा अन्तराष्ट्र्रिय स्तरमा नेपालको शिर उचो बनाउन सक्ने सम्भावना बोकेका खेलाडी थिए।
स्व.खड्का पिता तुलबहादुर र माता मिनकुमारी खड्काको कोखबाट स्याङ्जा जिल्ला विरुवा गा.पा.–१ मा जन्मेका हुन्। उनको २०७५ भाद्र ३ गते २२ वर्षको उमेरमा असामयिक निधन भएको थियो।
स्व.खड्काको सम्झनामा स्थापना गरिएको स्मृति कपलाई निरन्तरता दिई खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको क्लबका उपाध्यक्ष तथा खेलकुद संयोजक युवराज भण्डारीले बताए। उनले मानिस शारिरीक, मानसिक, संवेज्ञात्मक र सामाजिक रुपमा स्वस्थ्य रहनको लागि खेलकुदले मुख्य भूमिका खेल्ने हुँदा खेलक्षेत्र विकास गर्नु आजको आवश्यकता बताएका छन्।
मूल आयोजक समिति उपाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण काप्रीले समाजमा कुरिति, विसंगति र नकरात्मक क्षेत्रमा युवाहरु हिड्ने अबस्था सृजना नगर्न खेल क्षेत्रले सुधारगृहको काम गर्दछ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य हो तर त्यो पूरा नभएपनि स्वस्थ्य बनी सवल नागरिक उत्पादन हुनुपनि ठूलो भएको बताए।
क्लबका अध्यक्ष अनिल गुरुङले पुरुष भलिबल प्रतियोगितामा प्रथमलाई ८० हजार, द्वितीय लाई ५० हजार र महिला भलिबल प्रतियोगितामा प्रथमलाई २५ हजार द्वितीयलाई १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको जनाए। साथै विद्यागत पुरस्कार समेत समावेश भएको उनले भने।
प्रतियोगिताबाट उठेको रकमबाट दिवंगत खड्काको परिवारलाई आर्थिक सहयोग गर्ने र सामाजिक एवम् खेलकुदको विकास र विस्तारको लागि खर्च गरिने समेत अध्यक्ष गुरुङले बताए।