पोखरा २२। पोखरा महानगर पालिका वडा नं. ९ नयाँबजारको एक घरबाट विहिबार राती नगद सहित ११ जना पक्राउ परेका छन्।
प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा नयाँबजार स्थित कृष्णलाल जोशीको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि उक्त घरमा छापा मार्दा ११ जना जुवाडे नगद सहित रंगेहात पक्राउ परेका हुन्।
उनिहरुको साथबाट नगद ५९ हजार ७ सय ५० र २ सय १२ पत्ति तास सहित नियन्त्रणमा लिई अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले बताए।
पक्राउ पर्नेहरुमा पोखरा–१४ चाउथेका ४९ वर्षिय क्षेत्र बहादुर जिम्बा, माछापुच्छे« गा.पा. ३ बस्ने ४५ का अर्जुन कार्की, स्याङ्जा विरुवा गापा ४ वस्ने वर्ष ५८ का एकनारायण पाध्याय, पोखरा–९ नागढुंगा बस्ने ४९ का डिल बहादुर राई, सृजनाचोक ८ बस्ने वर्ष ३६ का दण्डी बहादुुर थापा, रुपा गापा १ वस्ने वर्ष ३५ का चित्र बहादुर गुरुङ, पोखरा ८, नयाँबजार बस्ने वर्ष ४८ का कृष्णलाल जोशी, पोखरा १४, मसिना वस्ने वर्ष ५२ का थमन बहादुर गुरुङ, गोरखा गा.पा.४ वस्ने वर्ष ३१ का सन्तोष पाण्डे, पोखरा–९, नयाँबजार बस्ने वर्ष ४३ का विष्णु कुमार गुरुङ र रानीपौवाका ४९ वर्षिय चिज गुरुङ रहेका छन्।
वडा प्रहरी कार्यालय बैदामको नेतृत्व सम्हाल्न भर्खरै सरुवा भई आएकी प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको यो सक्रियताले जुवाडे लगायत अवैद्य धन्धाकारीहरुको निदहराम गराएको छ।
झण्डै आधा पोखराको सुरक्षा व्यवस्था हेर्ने यो वडा प्रहरी कार्यालय हरेक दृष्टिले महत्वपूर्ण र आकर्षक अड्डा मानिन्छ। उक्त वडाको प्रमुख भई काम गर्न अवसर र चुनौती दुवै रहेको छ।