पर्वत जिल्ला कुश्मा नगरपालिका पाङ र खुर्कोटको सीमानामा रहेको प्रसिद्ध धार्मिक एवम पर्यटकीय स्थल पार्वती गुफा पूर्वाधारको सिलन्यास सोमबार उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका छन्।
पार्वती गुफा संंरक्षण तथा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको पूर्वाधार सिलन्यास कार्यक्रममा बोल्दै मन्त्री लम्सालले“हिन्दु धर्मालम्बीहरुको पवित्र स्थल रहेको हुनाले पाङ हिन्दु क्षेत्रको ईतिहास बोकेको र शिव शक्तिको उत्पत्ती स्थल भएको जानकारी गराए। पार्वतीको जन्म स्थल गुफामा एतिहासिक मुर्ति बनाउन सकेमा पर्यटकीय गन्तब्य बन्ने र पर्यटकीय क्षेत्र पर्वतलाई बनाउन कुनै पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन््।
पहाडको पाङले हिन्दुहरुको महिमा र सम्भाव्यता बोकेको हुँदा विकासको लागि बाटोघाटो र अन्य क्षेत्रको लागि बजेट विनियोजन भई काम गरिराखेको हुँदा भविश्य पाङको उच्च रहेको जानकारी गराएका छन्। “गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २५ लाख सहयोगमा प्रवेशद्वार लगायत पूर्वाधार निर्माणको लागि सहयोग गरेको छ।” प्रदेश सरकारले हरेक वर्ष निरन्तर आर्थिक सहयोग गर्ने र पाङवासीहरुले आफूहरुले विकासको लागि अग्रसर भई काम गर्न आग्रह गरेका छन्।


कुश्मा नगरपालिका उपप्रमुख सिता कुमारी काफ्ले लामिछानेले कार्यक्रममा बोल्दै मानव इतिहासमा धर्ममा नै अडिएको हुँदा अन्य कार्यबाट पुण्य पाउन नसक्ने र गलत काम गर्न खोज्दा धर्मसँग डराएर राम्रो काम तर्फ लाग्ने बताइन्। उनले पार्वतीको तपोवनलाई पार्वती गुफाको संरक्षण गर्न सकेमा पर्वतको पर्यटन विकास क्षेत्रमा टेवा पुग्ने बताएकी छन्।
काफ्लेले पार्वतीको जन्मस्थलमा टेक्न पाउँदा हजारौं पीडा विर्सेर स्वर्गमा आएको अनुभुती भएको बताइन्। जनता भनेका भगवान र नेता भनेको पुजारी भएकोले जनताको सेवामा सदैव लाग्नु नै आफ्नो कर्तव्य भएको हुँदा पर्वत जिल्लामा रहेका धार्मीक क्षेत्रको विकास र विस्तारमा सदैव अगाडि बढ्ने चाहनालाई बजेटको अभावले चाहना पूरा गर्न नसकेको बताइन्।
समितिका अध्यक्ष छविलाल पौडेलले हिमालयकी छोरी पार्वतीको सत्ययुगमा जन्म भएपनि प्रचार प्रसारको अभावमा पछाडि परेको बताए। पार्वतीले शिव पाऊँ भनी तपोवन गरि शिव पाएको स्थानलाई एतिहासिक पर्यटकीय क्षेत्र बनाउनमा सबैले सहयोग गर्न अनुरोध गरेका थिए। सपनामा देखेको मुर्ति विपनामा भेट्टिदा सत्य अझ पनि हामी सँगै रहेको बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले पार्वती गुफा जस्ता ऐतिहासिक र धार्मिक स्थलहरुको पर्याप्त प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटन आकर्षित हुने बताए।


कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १ का अध्यक्ष देवेन्द्र सुवेदी, वडा नं. २ का अध्यक्ष यदुनाथ बास्तोला, नेकपा कुश्मा नगरकमिटि अध्यक्ष शंकर गिरी, कुश्मा नगरपालिकाका लेखा प्रमुख कमलराज पौडेल, जग्गा दाताको तर्फवाट गौरबदास वैरागी र स्यामप्रसाद पौडेल, गुप्तेश्वर धार्मिक एवम् पर्यटकीय संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्मा लगायतले बोलेको थिए ।
उक्त कार्यक्रममा पार्वती गुफाको संरक्षण र सम्वद्र्धन गरी पर्यटकीय क्षेत्र बनाउनको लागि जमिन दान गरेका दाताहरु पुरुषोत्तम वैरागी, विष्णुदास वैरागी, पिताम्बर दास वैरागी, हरिदास वैरागी देवीतारा वैरागी, दिपकदास वैरागी, हरिशर्मा उपाध्याय, पवित्रा जैसीनी, वालाकृष्ण पौडेल, चोलाकान्त पौडेल, श्यामप्रसाद पौडेल, जनकराज पौडेल, लक्ष्मी पौडेल, सरिता पौडेल, रविलाल पौडेल, भुमिराज पौडेल, फणिन्द्रनाथ बास्तोलालाई लाई मन्त्री विकास लम्सालले दोसल्ला लगाई सम्मान गरेका थिए।
गुफा संरक्षण समितिका उपाध्यक्ष भक्ति विलास सुवेदीले स्वागत मन्तव्य गरेको कार्यक्रम अध्यक्ष छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव प्रेम शर्माले सञ्चालन गरेका थिए।
भक्तजन एवम् स्थानीयहरुको बाक्लो उपस्थिति रहेकोको उक्त कार्यक्रममा भजनकृतन गरिएको थियो।