बैतडी जिल्ला पञ्चेश्वर सडक खण्डको मेलौली ३ ठूलाखोलामा स्काभेटर पल्टिएर मृत्यु भएका चालक हेमन्त धामीको परिवारलाई नेपाल हेभि इक्युपमेन्ट संघ कास्कीले आर्थिक सहयोग गर्ने भएको छ।
नेपाल हेभि इक्युपमेन्ट संघ कास्कीका अध्यक्ष सुशिल वाग्लेले धामी परिवारको आर्थिक अवस्था नाजुक रहेको हुँदा यस दुखद् घडीमा सहानुभुति स्वरुप केही रकम संस्थाले उपलब्ध गराउने जानकारी गराएका थिए। “केही समय अगाडि दयनिय अवस्थाका दुई परिवारलाई प्रति परिवार १ लाख ५० हजार सहयोग गरिएको छ। मेरो कार्यकालमा हेभिइक्युपमेन्टको दुर्घटनालाई नजिकबाट नियाली सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। आफ्नो सानो प्रयासबाट पीडितलाई ठूलो राहत मिल्छ भने सहयोगको लागि कुनै कसुर बाँकी राख्दिन।” वाग्ले बताउछन्।
पुस १८ गते दिउसो १ बजेको समयमा क्रसर मेशिनको सामाग्रीहरु अनलोड गर्ने बेलामा बा २ ख २०६ नम्बरको स्काभेटर पल्टिएर उनको मृत्युभएको थियो।
गरिब परिवारमा जन्मिएका धामी कैलाली जिल्लाको चुरे गाउँपालिका–१ निगाली गाउँका हुन्। उनको धर्मपत्नी भागरथी धामी र १ वर्षिय छोरी, पिता जंगबहादुर धामी र माता कालीदेवी धामी लगायत ७ जनाको परिवार रहेको छ। आर्थिक विपन्न भएका धामी नै घरपरिवार सञ्चालनका मुख्य कर्ता थिए।







