पोखरा । युवा व्यवसायी दिपेन्द्र अधिकारीले जन्मदिनको उपलक्ष्यमा शनिबार रक्तदान कार्यक्रम गरेका छन्।
परिवर्तनका पाइला इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.को समन्वय तथा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ।
नेपाल रक्तदाता समाज कास्कीका निवर्तमान अध्यक्ष जितेन्द्रमान शाक्यले पानमा बत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै उनले रक्तदानले स्वस्थ्यलाई कुनै नोक्सानी नगर्ने अझ शारिरीक तथा मानसिक रुपमा मजबुद बनाउने बताए। “मैले ८ घण्टाको समयमा काठमाण्डौंमा रक्तदान गरि १ सय २० किमि साइक्लिङ गरेर भोटेकोशीमा बञ्जीजम्प गरि विश्व रेकर्ड राखेको छु।”

कार्यक्रम संयोजक अधिकारीले जन्मदिनको अवसरमा गरिने अनावश्यक फजुल खर्चलाई कम गरी केही मात्रामा भएपनि सामाजिक क्षेत्रमा परोपकारी काम गर्नपाएकोमा छुट्टै आनन्द मिलेको अनुभव गरे।
“पोखरामा रगतको अभाव भइरहेको अवस्थामा जन्मदिनको उपलक्ष्यमा रक्तदान जस्तो पवित्र कार्य गर्दा मनलाई शान्त मिलेको छ। अन्य साथीहरुले रक्तदान मात्र नभई सामाजिक काम यसै गरी गरेमा मात्र आफू बचौं र अरुलाई बचाऔं भन्ने भावनाको विकास हुनेथियो।”

उपेन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नेपाल रक्तदाता समाज कास्कीका संस्थापक अध्यक्ष तीर्थराज अवस्थी, नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्रका बरिष्ठ प्राविधिक महेन्द्र केसी, दारी ग्याङका पूर्व संयोजक बसन्त पहारी, रानीपौवा स्पोर्टस् सेन्टरका दिपक बास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए।








