धेरै समालोचनात्मक र अनुसन्धानमूलक कृति प्रकाशन गरिसकेका विष्णुप्रसाद शर्माले यस पटक आठौँ कृतिका रुपमा “प्रतिबिम्बन” कथा सङ्ग्रह लिएर साहित्य यात्राको औपचारिक आरम्भ गरेका छन् ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले उक्त कृतिको लोकार्पण गरेका थिए । उक्त अवसरमा अधिकारीले निरन्तरको साधनाबाट मात्र सफल सिर्जना सम्भव हुने बताए । विश्वप्रेम अधिकारी, साहित्यकार तारा पाखे र संस्थाका वर्तमान अध्यक्ष योगराज पौडेलले उक्त कृतिको संयुक्त लोकार्पण गरेका थिए ।

कार्यक्रममा विष्णुप्रसाद शर्माद्वारा लिखित “उत्तरवर्ती साहित्य सिद्धान्त ः प्रवृत्ति र प्रयोग” तथा “नेपाली भाषा शिक्षणका प्रायोगिक पक्ष” गरी दुई अनुसन्धानमूलक कृतिको पनि समीक्षा गरिएको थियो । कथा सङ्ग्रहको समीक्षा डा. भूमिराज वस्ताकोटी र अन्य दुई कृतिको समीक्षा डा. यमनाथ तिमिल्सिना र उपप्रा. सुलोचना खनाले गरेका थिए । शर्माको कथासङ्ग्रहमा जम्मा दश ओटा कथाहरु र अन्य दुई कृतिमा बाह्र र अठार अध्याय रहेका छन् ।

कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनी क्याम्पसका सभापति भानुभक्त आचार्य, पृथ्वीनारायण क्याम्पसका सभापति देवीलाल शर्मा, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. विरबहादुर कार्की तथा पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघका सभापति डा.लक्ष्मीशरण अधिकारीले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य हिममाया पौडेलले राखेकी थिइन् ।

सबै कृतिमाथि प्रतिबिम्बन प्रस्तुत गर्दै लेखक शर्माले आफ्ना यी कृति प्रकाशन हुनुमा २०५५ देखिको निरन्तर प्रयास भएको बनाए । निरन्तर साधना र अध्यवसायबाट मात्र यो कार्य सम्भव भएको उनले बताए । समीक्षक र शुभेच्छुकबाट आएका सुझावलाई मनन गरेर आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सहयोगी मनहरुलाई उनले धन्यवाद दिए । यसपूर्व शर्माका सात ओटा कृति प्रकाशन भइसकेका छन् ।

संस्थाका अध्यक्ष योगराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सहसचिव गणेश चालिसेले गरेका थिए ।