पल्सर स्पोर्ट अवार्ड–२०७६ मा मनोनित भएकी नेपाल महिला भलिबल खेलाडी क्या.अरुणा शाही पिपल च्वाईस अवार्ड बन्न सफल भएकी छन्। भोटिङ काउण्टमा ३७.५२५ प्रतिशत मत शाहीको आएको थियो। ईसेवाबाट २७.८४२ प्रतिशत, फेसबुक लाइकबाट ४.४७९ प्रतिशत, चिफ कोचबाट २.७०४, एनएसजेएफबाट २.५ प्रतिशत ल्याई विजयी भएकी हुन्।

कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना भएको अवार्ड सातदोबाटोस्थित कराते हलमा भएको हो।
अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे सुरु भएको थियो। यस वर्ष समेत पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान गरियो । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका थिए ।
पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी थिइन्। ई–सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट भएको हो ।

अरुणाले ईसेवा भोटबाट एक लाख ९४ हजार ७४७ मत पाएकी थिइन्। दोस्रो स्थानमा रहेका मण्डेकाजीले एक लाख ६ हजार ६७२ मत पाए। बास्केटबलकी सदिनाले ४२ हजार ७७४ मतम ल्याइन्। गौरिकाले तीन हजार २८२ र सावित्राले दुई हजार २६५ मत ल्याए।
म्याग्दीको बेनीमा जन्मीएकी अरुणाको कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो।
त्यस्तै नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि महिला भलिबल टिमले रजत जितेको थियो। साग इतिहासमा नेपाली महिला भलिबल टिमले फाइनल खेलेको यो पहिलो पटक हो ।
फाइनलमा भारतसँग दुई सेटको अग्रता लिएर पनि ऐतिहासिक स्वर्ण पदक जित्नबाट नेपाली महिला भलिबल टिम उपविजेता बन्न सफल भएको थियो।







