पोखराः मद्रण उद्योग संघ कास्कीले माघ १ गते विहीबार महेन्द्रपुल हुलाक चोक अगाडि विहान ८ बजे खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ।
मुद्रण उद्योग संघ कास्कीको स्थापना दिवसको अवसर पारेर गर्न लागिएको रक्तदान कार्यक्रममा संस्थाका जिल्ला सदस्य सुवास सिग्देललाई संयोजक तोकिएको छ।
संयोजक सिग्देलले रक्तदान जीवनदान, जीवनदान महादानको मूल अभिप्रायलाई लिई रक्तदान कार्यक्रम स्थापना दिवसमा गर्दा यसले सामाजिक उत्तर दायित्व निर्भाह गर्नुका साथै पोखरामा रगतको अभावलाई पनि केही मात्रामा सहयोग गर्ने बताएका थिए। भने माघ १ गते हुने खुल्ला रक्तदान कार्यक्रममा सम्पूर्ण पोखरेलीहरु उपस्थित भई सहयोग गर्न अनुरोध समेत गरेका थिए।
त्यसैगरी संस्थाका अध्यक्ष पदमलाल श्रेष्ठले रक्तदान एउटा स्वच्छ सामाजिक कार्य भएको बताए। रगतदान गर्नु भनेको आफ्नो शरिरबाट खेर जाने पुराना सेलहरु दान गर्ने भएको हुँदा यसले मानव शरिरमा कुनै नोक्सानी नपु¥याउने बरु फाइदा बढी पु¥याउने भएकोले रगत दान गर्नुपर्ने बताए। पोखरामा मात्रै दैनिक १ सय २० युनिट रगत आवश्यक हुने हुँदा माग अनुसार अहिलेको विषम परिस्थितिले गर्दा रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको जानकारी गराए। रगतको चरम अभावमा हुन गईरहेकोले खुल्ला रक्तदान कार्यक्रममा सम्पूर्ण मुद्रण उद्योग व्यवसायी, शुभेच्छुक, सामाजिक संघ संस्था एवम् सम्पूर्ण पोखरेलीहरुलाई माघ १ गते महेन्द्रपुलमा आई रक्तदान गर्नको लागि निमन्त्रणा गरेका थिए।
संस्थाका उपाध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले कोभिड–१९ को कारण पोखरामा रक्तदान कार्यक्रमहरु विगतका समयमा जसरी नभएको हुँदा ब्लड बैंकमा रगतको अभाव देखिएको हुँदा अहिलेको समयमा रगतको आवश्यक छ। यो समस्या हाम्रो आफ्नै परिवारलाई पनि रगत चाहिन सक्छ त्यसको लागि भएपनि रक्तदान गर्नुपर्ने बताए।
संस्थाका महासचिव सचिव जीवन गोर्खालीले खुल्ला रक्तदानका कार्यक्रममा रक्तदान सँगै संस्थाको स्थापना दिवस पनि मनाइने भएको हुँदा पोखरामा छपाई सम्बन्धी काम गरेका व्यवसायीहरुलाई अनिवार्य उपस्थितिको जानकारी गराइएको समेत बताएका थिए।