पर्वत : पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ९ भँगारामा बुधबार वडा कार्यालय भवनको शिलन्यास भएको छ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको प्रमुख आतिथ्यतामा वडा कार्यालय भवनको शिलन्यास भएको हो। कार्यक्रममा बोल्दै प्रमुख शर्माले स्टिमेट अनुसार नै भवनलाई बलियो भरपर्दो र सबैको विश्वास जित्न सक्ने भवन बनाउन अनुरोध गरेका थिए। भवन निर्माण कार्य जसले लिएको भएपनि सम्पूर्ण वडावासीको सम्पत्ति भएको हुँदा भवन निर्माण कार्यमा निगरानी राख्नुपर्ने जानकारी दिए।
केन्द्रीय योजनामा बन्न लागेको वडा कार्यालय भवन १ करोड ५ लाख को लागतमा निर्माण गर्ने भनिए पनि ३४ प्रतिशत कमको टेण्डर राखेको कुश्मा कन्ट्रक्सनले काम गर्ने जिम्मा पाएको थियो।
कार्यक्रममा बोल्दै कुश्मा कन्ट्रक्सनका सञ्चालक शिव अधिकारीले नियमानुसार २०७८ असार मसान्त सम्मको भएता पनि भवनलाई वैशाख भित्रमा नै हस्तान्तर गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। अधिकारीले कार्यक्रममा बोल्दै “भवन निर्माणमा कुनै कञ्जुसाइ गर्ने छैन, कुनै कमीकमजोरी भएमा भत्काएर पुन बनाउन तयार छु।”


भवन निर्माणको लागि भँगरा वडाका स्थानीय मनबहादुर क्षेत्रीले करिब २ रोपनी भन्दा बढी जग्गा निःशुल्क दान गरेका थिए। उनलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै क्षेत्रीले सामाजिक कामको लागि आफू सदा तयार भएको र आफ्नै क्षेत्रमा बन्न लागेको वडा भवनमा जग्गा दान गरी पुण्य कार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए। क्षेत्रीले आफ्नो जग्गाको वरिपरी रहेको केही जमिन खरिद गरि निःशुल्क दान गरेका थिए।
फलेवास नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गंगाधर शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य होम बहादुर पौडेल क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने देवीप्रसाद तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए।