म्याग्दी, २४ भदौ : बेनी बजारमा एक महिनाअघि सुरु भएको बर्खेनाचको समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको साउन महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तीज पर्वका दिनसम्म देखाउने गरिन्छ ।

बेनीको गणेश मन्दिरमा धार्मिक विधिअनुसार कृष्णद्वारा घण्टाकर्ण नामको राक्षसको प्रतीकको बध गरी समापन गरिएको हो । ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेका थिए । बेनीमा नेवार समुदायको बसोबास रहेदेखि नै बर्खेनाच देखाउने चलन रहेको नेपाल भाषा मंकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

परापूर्वकालमा समाजलाई दुःख दिएको घण्टाकर्ण नामको राक्षसको स्थानीयवासीले बध गरेपछि साक्षसकी पत्नीले पतिवियोगमा देखाएको चरित्रलाई बर्खेनाचमा कलात्मकरूपमा प्रस्तुत गरिन्छ । बर्खेनाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागिनी, रोपाइँ र जोगीनाच देखाउने गरिन्छ ।

कोरोना भाइरसको महामारीका कारण गत वर्ष र यसपालि बर्खेनाचलाई औपचारिकतामा मात्र सीमित गरिएको ल्यामःपुच म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “घण्टाकर्णको प्रतीक सेलाउने, गाईजात्राका दिन दिवङ्गतहरुको स्मृतिमा लक्ष्मीनारायण मन्दिर परिसरमा तायमचा देखाउने र कृष्ण मन्दिरमा घण्टाकर्णको बध गर्ने कार्यक्रम मात्र भयो”, उहाँले भन्नुभयो, “विभिन्न नृत्यसहित बजार परिक्रमा गरिएन, परम्परालाई निरन्तरता र संस्कृति जोगाउन औपचारिकतामा मात्र सीमित बनायाँै ।”

बेनीमा बसोबास सुरु भएदेखि नै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । उक्त नाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी भएको सन्देशसहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । नाचमा पछिल्लो समय यहाँका युवाले सक्रिय सहभागिता जनाउने गरेका छन् । बर्खेनाचका लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो । –––रासस