कुश्मा पोखरा अन्तर्गतको बाटो ८ दिनपछि पूर्ण रुपमा विहीबारबाट सुचारु भएको छ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामोड देखि कुश्मा नगरपालिका–७ खरेहा सम्मको बाटो भाद्र १७ गतेको अविरल बर्षाका कारण पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो।

करिब २० ठाउँमा पहिरो जाँदा सवारी चल्न सकेका थिएनन्। २२ गतेसम्म १९ स्थानको पहिरो पन्छाएर मोदीखेतसम्म सडक सुचारु भएपनि बाँकी स्थानमा कडा र ठूला चट्टान सहितका पहिरोले गर्दा सवारी आवतजावत गर्न सकिरहेका थिएनन्।

विशाल ढुंगाहरुलाई हटाउन नसकेपछि लगातार ३ दिनसम्म विष्पोटक पदार्थ प्रयोग गरि पहिरो हटाएको हो। विहिबार साँझ ६ बजेबाट सडक पूर्ण रुपमा सुचारु भएको पर्वत प्रहरीले जानकारी गराएको छ।