पोखरा । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटीले पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचन अन्तर्गत कार्यसमितिको कोषाध्यक्ष पदका उम्मेदवार बलराम आचार्य र उपमहासचिव पदका उम्मेदवार केशव बहादुर खत्रीलाई सहयोग गर्ने भएको छ।
मंगलबार बसेको क्लबको कार्यसमितिको वैठकले नै आचार्य र खत्रीद्वयलाई सघाउने प्रतिवद्धता व्यक्त गरेको हो ।
कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष टिकाराम (माधव) सुवेदीले माउण्टेन भ्यू सिटी क्लबमा आवद्धद्वय आचार्य र खत्रीले इमान्दारीता पूर्वक सामाजिक क्षेत्रमा गरेको योगदान र उद्योग व्यवसायीहरुको हक हितको लागि अग्रसर भई काम गरेको हुँदा आगामी दिनमा पनि उहाँहरुको साथ र सहयोग सम्पूर्ण उद्योग व्यवसायमा आवश्यक भएको हुँदा पुन उम्मेद्वारीले खुसी भएको बताएका थिए।
यही पौष २४ र २५ हुन गईरहेको निर्वाचनमा क्लबका सम्पूर्ण सदस्य र उद्योग व्यवसायीहरुले अमूल्य मतदात गरि अत्याधिक बहुमतले जिताउनको लागि सहयोग गर्न संस्थापक अध्यक्ष सुवेदीले आग्रह गरेका थिए।
त्यसै गरी कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष हरिप्रसाद अधिकारीले तिन कार्यकालसम्म उद्योग व्यवसायीहरुसँग सहकार्य गरि निरन्तर व्यवसायीहरुलाई परेका असहज परिस्थितिलाई सामना गर्दै अगाडि बढेका आचार्य र खत्रीको त्यागले व्यवसायीहरुको शिर उचो बनाएको हुँदा उहाँहरु दुवैको जित निश्चित भएको जनाएका थिए।
कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका बलराम आचार्य पोखरा–१ बगरमा आचार्य फेन्सीका सञ्चालक रहेका छन् भने उपमहासचिव पदमा उम्मेदवारी दिएका केशव बहादुर खत्री बुद्ध विशालबजारमा कुशल फेन्सीका सञ्चालक रहेका छन्।
उनिहरु दुवैले नारायण कोइरालाको टीमबाट उम्मेदवारी दर्ता गराएका थिए।
संघको आशन्न चुनावमा अध्यक्ष पदमा नारायण कोइराला, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल र उद्योग तर्फबाट चिनु गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोेषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीले उम्मेदवारी मनोनयन गराएका छन् । भने संघको कार्यकारी सदस्यमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदन बहादुर कोइरालाका साथै एशोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी मिराज छन् । हर्कबहादुर अधिकारी निर्विरोध निर्वाचित समेत भइसकेका छन्।
यो समूहको प्यानलमा कार्यसमिति सदस्यमा तीन जना सदस्यबाहेक सबै पुराना र संघको विभिन्न पदमा रहेर महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेका अनुहार छन् । यस्तै समूहमा शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला पनि विभिन्न संघसंस्था र व्यवसायमा लामो अनुभव बटुलेका छन् । कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका देवेन्द्र केसीलाई वर्तमान अध्यक्ष दामु अधिकारीले आफ्नो कार्यसमितिमा मनोनित गरेका थिए ।