पोखरा ः पोखरा–२४ कास्कीकोट निवासी रामजी गिरी (अर्जुन)ले ठगेको आरोप लगाउँदै एक महिलाले पोखरामा पत्रकार सम्मेलन गरेकी छिन्।
बुटवल नगरपालिका–११, रुपन्देही घर बताउने कमला शाहले विभिन्न बहाना बनाएर गिरीले आफूसँग नगद रकम लिएको बताएकी छिन्।
केही समयमा पैसा फिर्ता गर्छु भन्दै कहिले आमा विरामी, कहिले सालाको विवाह जस्ता अनेक बहाना बनाएर गिरीले आफूसँग ४ लाख ७ हजार रकम लिएको र अझ सम्म पनि रकम फिर्ता नगरेको उनले बताइन्। पैसा माग्दा मार्छु भनी धम्काउने गरेको उनको आरोप थियो।
“विभिन्न बहाना बनाएर पैसा माग्दा मैले ११ पटक सम्म पैसा बुझाएछु हिसाव गर्दा ४ लाख ७ हजार भइसकेको रहेछ, विदेशमा भएका दाजुसँग जानकारी लिँदा रामजी गिरी ठग हो भनेर भनेपछि बल्ल म झल्यास्स भए, त्यसपछि पैसा माग्दा उसले मारेर तिनाउ खोलामा फाल्दिन्छु भन्यो”, उनले भनिन्।
जिल्ला प्रहरी कार्यालय कास्कीमा २ पटक राजमी विरुद्धमा उजुरी दिएको पत्रकार सम्मेलनमा जानकारी गराएकी थिइन्। मानवताको हिसावले सहयोग गरेको अहिले ज्यान मार्ने धम्की दिंदा कहाँ जाने भन्दै मिडियामा आएको उनले बताइन् ।
आफूजस्ता हजारौं महिलालाई रामजीले ठगेको आरोप लगाउँदै केही व्यक्तिहरुको ९० हजार देखि ९ लाखसम्म नगद लिएर फिर्ता नगरेको गुनासो आफूमा आएको उनले जानकारी गराएकी थिइन्।
यस विषयमा रामजी गिरीसँग जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन।







