स्याङ्जा ८, भाद्रः
नेपाली कांग्रेस विरुवाले विरुवा गाउँपालिका भित्र भएका आर्थिक अनियमितता प्रति मंगलबार एक विज्ञप्ती प्रकाशित गरि गम्भिर आपत्ति जनाएको छ।
पालिका सभापति युवराज केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विरुवा गाउपालिकामा भएका विकाश योजनाहरुको काममा आर्थिक अनियमितता भएको बताइएको छ।
पालिका भित्र भएका कामहरुमा अपारदर्शिता र अनियमितता भएपछि सत्यतथ्य सार्वजानिक गर्नुपर्नेमा आफ्ना कमिकमजोरीहरुलाई ढाकछोप गरि नेपाली कांग्रेस विरुवाले उठाएका समसामयिक विषयवस्तुलाई गाउँपालिकाले राजनैतिक पूर्वाग्रहको संज्ञा दिई सत्यतथ्य लुकाउने प्रयास गरेको जानकारी गराइएको छ।
विरुवा गाउपालिकाले पछिल्लो समयमा गरेका विकाश निर्माणका काममा भएका अनियमितता, कोभिड नियन्त्रणमा भएका आर्थिक अनियमितता, वडाका बाटाहरु ग्रावेल गर्ने नाममा २५ लाख विनियोजित गरि गरिएको अनियमितता, म्याङखोला पुल उद्घाटनमा भएको खर्च सार्वजानिक नगरिएको, भञ्ज्याङ विरुवा सडक खण्ड अन्तर्गत देउराली डाँडाको पहिरो नियन्त्रणमा चासो नदिइएको, युवा स्वरोजगारको नाममा २० लाखको हलो वितरण गर्ने कार्यक्रम विना कार्यविधि वास्तविक किसानलाई नभई पार्टीका कार्यकर्तालाई वितरण गरिएको, सुन्तालाका बेर्ना बाड्ने कार्यक्रम अपारदर्शी ढंगबाट गरिएको विषयमा खोजी गरी तत्काल सार्वजानिक गर्न माग गर्दै २०७८ असार २८ गते गाउपालिकालाई ज्ञापन पत्र बुझाइएको विज्ञप्तीमा जानकारी गराइएको छ।
“आफ्नो कर्तव्यबाट पन्छिदै जनताको हक अधिकारलाई कुल्चदै गाउपालिकाले गरेका यस्ता अनियमितताका कामहरु प्रति हाम्रो घोर आपत्ति छ,” विज्ञप्तीमा भनिएको छ।
गाउँपालिका भित्र भए गरेका आर्थिक अनियमितता एवम् अपारदर्शी कार्यहरुको सत्य तथ्य जानकारी गराउन जोडदार माग गर्दै सत्य, तथ्य विवरण सार्वजानिक नगरेको खण्डमा जुनसुकै कदम चाल्न नेपाली कांग्रेस विरुवा बाध्य हुने चेतावनी विज्ञप्तीमा उल्लेख गरिएको छ।