पोखरा ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले निर्वाचनका बेला मात्र राजनीति हुने बताउँदै प्रदेशको विकास र समृद्धिका कार्यमा कसैले पनि राजनीतिक विभेद साध्न नहुनेमा जोड दिनुभएको छ ।
पोखरा २१ मा पहिरो गई जोखिम अवस्थामा रहेको दाम्सादी पुलको स्थलगत अवलोकनक्रममा स्थानीयसँग छलफल गदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
तत्कालै क्षतिग्रस्त पुल निर्माणमा सोमबारबाटै इन्जिनियरसहितको विज्ञ टोली खटाई कार्य थालनी गरिने र तत्काल तारजालीको व्यवस्थासहित दीर्घकालीन समस्या समाधान पनि छलफल उहाँले बताउनुभयो ।
सो क्षेत्रमा अत्यावश्यक रुपमा रहेका बाटो निर्माण लगायत सानातिना योजना यसै वर्ष सम्बोधन गर्नुका साथै संघले सुरु गरी अलपत्र परेका बाटो निर्माणका योजनालाई संघकै पहल हुनुपर्ने समेत मन्त्री खड्काले बताउनुभयो ।


नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले महानगरपालिकाभित्र पनि विकासका दृष्टिकोणले पछाडि परेको वडा २१ को विकासमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । कास्कीकै सबैभन्दा अग्लो र लामो दाम्सादी पुल जोखिममा पर्दा त्यो भेगका ७० घरमध्ये ३० घर उच्च जोखिममा रहेको र जनजीवन खतरामा पर्ने भएकाले तत्कालै पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाली कांग्रेस जिल्ला सदस्य पुण्डरीप्रसाद बरालले विगतका दिनमा पनि कांग्रेसको पहलमा विकास निर्माणमा भएको र भौगोलिक विविधता ख्याल राख्दै शहरलाई भन्दा विकासको अग्रभागमा नपरेका वडालाई अझै ध्यान दिनुपर्ने बबताउनु भयो ।
स्थानीय तारानाथ आचार्यले दाम्सादी क्षेत्रमा भएका समस्याबारे जानकारी गराउँदै आफ्नो गाउँ विकासका कार्यमा बत्तिमुनिको अध्याँरो भएको बताउनु भयो ।

कांग्रेस वडा १७ का सभापति देवराज आचार्यले महानगरको समृद्धिमा पिछडिएका वडाको विकास अनिवार्य भएको र यसमा स्थानीय सरकार पनि गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
दम्सादी टोल विकास संस्था अध्यक्ष उमानाथ भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सभापति केवल गिरी, सामाजिक व्यक्तित्व शालिकराम भण्डारी, सन्तोष आचार्य लगायतले सो क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।