पोखरा ।
गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गर्नुभएको छ । उहाँले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामाग्री आफुले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफुले पनि थपेर सामाजिक सेवा सँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु । मन्त्री भइसकेपश्चात पनि यो क्रम निरन्तर चलिरहेको छ । नागरिकका हरेक सुखदुखमा म सँगै छु । गफ मात्र नभई काममा विश्वास दिलाउने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । ”

मन्त्री थापाले नेपाली कांग्रेसको सरकार आएपश्चात पोखरा ३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोहि अनुरुपको काम भइरहेको बताउनुभयो । उहाँले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व हुनु सबैको जीत भएको दाबी गर्नुभयो । सरकारी निवास समेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफु समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरा २१ र ३३ नम्बर वडा दुर्गम वडा भएको उल्लेख गर्दै मन्त्री थापाले उक्त क्षेत्रको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा लक्षित हुने गरी आफ्ना कामकारबाहीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको प्रति जोड दिनुभयो ।
उहाँले नेपाली कांग्रेसको महाधिवेशन जुनसुकै समयमा पनि हुने भएकाले पूर्वतयारी अप्नाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । क्षमताअनुसारको जिम्मेबारी दिने गरी यसपालीको महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकतालाई उहाँले औल्याउनुभयो । संघीय सरकारमा अवसर पनि राम्रा भएकाले त्यहि अनुरुपको प्रचारप्रसारमा दौडिन मन्त्री थापाले अनुरोध गर्नुभएको थियो। गण्डकी प्रदेश केपी शर्मा ओलीको राम्रै पकड भएको क्षेत्र भए पनि त्यसलाई भत्काउन कांग्रेस सहितको गठबन्धन सरकार सफल भएको तर्क उहाँको छ ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा ३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले मन्त्री थापालाई कांग्रेसको साख जोगिने गरी काम गर्न आग्रह गर्नुभएको थियो । मन्त्री थापाको विषयमा आफुले धेरै गुनगान सुनिरहेको र यसलाई यथावन राख्ने गरी कामबाट गति लिनुपर्ने आवश्यकता रहेको प्रति उहाँको जोड थियो । आगामी निर्वाचनमा कांगे्रसको जीत सुनिश्चित हुने गरी काममै ध्यान दिनुपर्ने विषयलाई उहाँले उल्लेख गर्नुभयो। नेपाली कांगे्रस पोखरा ३३ भरतपोखरीका पूर्वसभापति भोजराज आचार्यले अघिल्लो सरकारले नगरेका काम अहिलेको सरकारले गरेर देखाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार परिवर्तन भएको धेरै समय भएको छैन । तर कांग्रेस नेतृत्वको सरकारबाट देखिने गरी नै उल्लेखनीय काम भएका छन् । यसको मूल्यांकन हुनुपर्ने आवश्यकता छ ।’ पोखरा ३३ मा सरकार परिवर्तन भएपश्चात राम्रा परियोजनाहरुले गति लिइरहेको भनाई उहाँको थियो ।
कार्यक्रममा पूर्व जिल्ला सदस्य विष्णु पौडेल, महासमिति सदस्य केशव प्रसाद निर्दोशी र पोखरा ३३ भरतपोखरी तरुण दलका सभापति भूपेन्द्र थापाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेपाली कांग्रेस पोखरा ३३ का सह—संयोजक दिनेश आचार्यले गरेका थिए ।







