जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो आवाज पड्काउँदै हिड्ने र स्वरुप परिवर्तन गरेका २६ वटा मोटरसाइललाई नियन्त्रणमा लिएको छ।
प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन तथा ध्वनि प्रदूषण गर्ने गरी तीव्रगतिमा लापरवाही तबरबाट सवारी चलाई नियम उल्लङ्घन गर्ने बुलेट मोटर साईकल ७ वटा, क्रसफायर मोटरसाईकल ११ वटा र अन्य मोटरसाईकल– ८ वटा गरी जम्मा २६ वटा दुई पाङ्ग्रे सवारी साधनहरूलाई नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

साथै, ३ महिना भित्रमा करिब ६० वटा २ पाङ्ग्रे सवारी साधनलाई कारवाहीको लागि यातायात कार्यालयमा प्रहरीले पठाइसकेको छ।
सवारी नियम उल्कालंघन कार्यलाई नियन्त्रण गर्ने अभियानकै रूपमा लागीपरेको कास्की प्रहरीले साउन ३० गते पोखराका बिभिन्न स्थानमा चेक जाँच गरी उक्त सवारी साधनहरुलाई नियन्त्रण लिएको हो ।
सवारी साधनको स्वरुप परिवर्तन गर्दा दुर्घटना हुने सम्भावना अत्याधिक हुने, गु्रपमा आवाज ठूलो बनाएर पड्काउँदै हिड्दा ग्याङ् फाइटको सम्भावना हुने, टोल समाजमा आतंक पैदा गर्ने, साना बालवालिकाहरु झस्कने र डिप्रेसनको सम्भावना हुने जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले बताउनुभयो।
सवारी साधनको स्वरुप परिवर्तन गरि ट्राफिक नियम उल्लंघन गर्दा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरणको लागि सबै नागरिक सचेत बन्नुपर्ने उहाँले भन्नुभयो।
सवारीको स्वरुप परिवर्तन गर्दा त्यसबाट हुनसक्ने दुर्घटनाको जोखिम एवम् सवारीबाट आवाज ठूलो निकाल्दा टोल समाजमा आतंक सृजना हुने, ध्वनी प्रदुषण हुने, टोल समाजमा हुने असर तथा डर त्रास सम्बन्धमा सवारीचालकलाई सडकमा नै सचेतना गराएको प्रहरीले बताएको छ।








