पोखराः कोरोना भाइरसको तेस्रो लहर शुरु भएर संक्रमितहरु बडिरहेको बेला । मानिसहरुको भीड्मा मिसिए कुनै पनि एक संक्रमितले कोरोना सार्ने खतरा । त्यो भन्दा पनि बिरामीहरुसँग प्रत्यक्ष सम्र्पकमा बसेर काम गर्नु पर्ने भएपछि चिकित्सा शास्त्रका बिद्यार्थीहरु सुरक्षाका लागि खोप लगाउन पाउने आशामा बिहानै खोप केन्द्रमा पुगे ।
खोप लगाउनेहरुको भीडले संक्रमण फैलाउने खतरा
चर्को घाममा घण्टौं बसेका बिद्यार्थीहरुले खोप पाएनन्
क्याम्पसले खोप लगाईदिन दिएको पत्र खोप केन्द्रले च्यातिदियो
लगाउने धेरै र खोप थोरै हुनाले सधै हानथाप
स्वास्थ्यका बिद्यार्थीहरुमाथि भएको ज्यानमारा व्यवहार सच्याउन माग
खोप नलगाईकन बिद्यार्थीहरु बिरामीहरुसँग सम्पर्कमा
ठेलम ठेल मानिसहरुको भीडमा आफै संक्रमित हुनसक्ने खतरा मोल्दै बिहानैदेखि चर्को घाममा उभिएर खोप केन्द्रमा धक्का खादै लाईनमा बसेपनि चिकित्सा शास्त्र अध्ययन गर्ने बिद्यार्थीहरुको खोप लगाउने आशा चकनाचुर भयो । बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने बिद्यार्थीहरुलाई खोप केन्द्रमा घण्टौं लाइनमा राखेर अपरान्हतिर खोप नलगाईकन फर्काईदिएपछि निरास मात्रै होईन, अस्पतालमा काम गर्दा संक्रमित भएर समस्यामा पर्ने त्रासले पिरोलिन पुगे । खोप केन्द्रले स्वास्थ्यका बिद्यार्थीहरु खोप लगाउने प्राथमिकतामा नपरेको भन्दै बिभिन्न क्याम्पसमा अध्ययनरत शयौं बिद्यार्थीहरुलाई फर्काएको थियो ।
चरक ईन्स्टिच्यूट अफ हेल्थ साईन्समा हेल्थ असिस्टेन्ट तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई प्राक्टिकल कक्षा शुरु हुने भएकोले खोप लगाईदिन अनुरोध गर्दै खोप केन्द्रलाई क्याम्पसले पठाएको पत्र खोपको कार्ड बनाउन बसेका कर्मचारीले च्यातेर फालिदिएको गुनासो गरेका थिए ।
‘चर्को घाममा दिनभर लाईनमा बसेर कार्ड बनाउने ठाउँमा पुगेर क्याम्पसले दिएको पत्र देखाउँदा यस्तो कागज देखाएर खोप लगाउन पाइदैन भन्दै पत्र च्यातेर फालिदिए,’ दुई टुक्रा पारिएको पत्र देखाउँदै थकित बिद्यार्थीहरुले भने ‘कोरोनाको उपचारमा खटिने हामीपनि फ्रन्टलाईनर हौं भन्ने खोप लगाउनेहरुले किन नवुझेका होलान् ? बिरामीसँग छोएर काम गर्नुपर्दा हामीलाई पनि कोरोना सर्ने खतरा हुँदैन र ? खै त हाम्रो स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भिर बनेको ? खोप नै नलगाइकन हामीले कसरी काम गर्ने अव ?’
खोप केन्द्रमा स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी र वैंकका कर्मचारीहरुको लागि खोप दिने व्यवस्था गरिएको भनिएपनि बिहान आठ बजेदेखि नै सबै खालका मानिसको भीडले भरिभराउ बनेको थियो । खोप केन्द्रमा स्वास्थ्य सहायक, नर्सि·, प्रयोगशाला, रेडियोग्राफि, नेत्र सहायक लगायतका बिषय अध्ययन गरेर अस्पतालमा प्रयोगात्मक काम गर्नुपर्ने बिद्यार्थीहरु पुगेका थिए ।
सरकारले कोरोना संक्रमितहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई बिशेष भत्ता, बिमा, सुरक्षा लगायतको व्यवस्था गरेको घोषणा गरेपनि चिकित्सा शास्त्र अध्ययन गरेका बिद्यार्थीहरु भने खोप बिना नै काम गर्न बाध्य पारिएकोप्रति पीडित पक्षले चर्को असन्तुष्टि व्यक्त गरेका छन्। बिरामीको उपचारमा खटिने बिद्यार्थीहरुलाई खोप विना बिरामीसँग काम गर्दा संक्रमित बनाएर सिधै स्वास्थ्य र ज्यान खतरामा पार्ने काम भएको उनीहरुले वताएका छन्। साथै उनीहरुले तत्काल बिद्यार्थीहरुलाई खोप लगायत सुरक्षा र बिमा लगायतका पक्षहरुको व्यवस्था गरी सुरक्षित वातावरणमा उच्च मनोवलका साथ काम गर्न पाउने अबस्था सिर्जना गर्न जोडदार माग गरेका छन्।
बिद्यार्थीहरुले प्रयोगात्मक कक्षा पुरा नगरे शैक्षिक भविष्य नै अन्यौलमा पर्ने भएकोले कोरोना महामारीका बिच पढाई पुरा गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको शैक्षिक संस्थाहरुले वताएका छन् । कोरोनाका कारण बिद्यार्थीहरुको पढाईमा धेरै खालका अड्चन आईपरेको वताउँदै ती संस्थाहरुले न्यूनतम सुरक्षाको लागि बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाईदिन अनुरोध गरेपनि राज्यका निकायले वेवास्ता गरेको दुःखेसो पोखे।
‘हामीले बिरामीको सम्पर्कमा रहेर काम गर्नुपर्ने बिद्यार्थीहरुको सुरक्षाको लागि कोरोना बिरुद्धको खोप लगाईदिन अनुरोध गर्दा गम्भिर ढंगले लिएको पाईएन, कोरोना बिरुद्धको लडाईमा बिरामीको उपचार र सेवामा खटिने बिद्यार्थीहरु पनि फ्रन्टलाईनर हुन भनेर खोप दिनेहरुले बुझेनन,’ बिद्यार्थीहरुका अभिभावकहरुसँगको छलफलमा स्वास्थ्य शैक्षिक संस्थाका गुरुहरुले भने ‘खोप नलगाईकन काम गर्दा संक्रमित हुने खतरा नपढाउँदा बिद्यार्थीहरुको भविष्य बिग्रने खतरा ।’
कोरोना बिरुद्धको खोप नपाएपछि कतिपय स्वास्थ्य शैक्षिक संस्थाहरुले बिद्यार्थीहरुलाई जोखिमपूर्ण ढंगले काममा खटाएका छन्। संक्रमितहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्दा धेरै बिद्यार्थीहरु संक्रमित बनेर स्वास्थ्यसँगै ज्यानको जोखिम मोल्न बाध्य भएका छन् ।
खोप केन्द्रहरुमा उपस्थित मानिसहरुको लागि पुग्ने खोपको व्यवस्था नगरिकन सिमित खोप लैजाने प्रवृत्ति र खोप केन्द्र विस्तार नगर्दा कोरोना संक्रमणको खतरा निकै बढेको छ । सबै खालका मानिसहरुलाई एउटै खोप केन्द्रमा जम्मा गरेर थोरै खोप लगाउने प्रवृत्तिले खोप लगाउन पुगेकाहरु जसरी पनि खोप लगाउनका लागि भीडमा हानथाप गर्दै ठेलमठेल गर्दै झगडामा उत्रिएको देखिएको छ । कतिपय खोप केन्द्रमा स्वास्थ्यकर्मीहरुले आएको खोप लुकाएर लैजाने र आफन्त र चिनेजानेकालाई घरमै लगेर लगाईदिने गरेका छन् । केहिले चर्को शुल्क असुलेर गोप्य ढंगले खोप लगाईदिएको पनि सार्वजनिक भएको छ । खोप केन्द्रमा राजनीतिक पार्टीका कार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार लगायतका पहुँचवालाले सर्वसाधरणको पालो मिचेर खोप हत्याउन लागि परेका प्रशस्त देखिएको छ ।
विद्यार्थी होस् या कर्मचारी पहिलो प्राथमिकता खोप

मन्त्री
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश
स्वास्थ्य क्षेत्रमा काम गर्ने विद्यार्थीहरुले कोरोनाको खोप विना जोखिम मोलेर काम गर्नुपरेको खबर आएको छ। यस विषयमा गहन अध्ययन गरि कोभिडको प्रत्यक्ष जोखिम मोलेर काम गर्ने विद्यार्थीहरुलाई प्राथमिकतामा राखिनपर्छ। कोभिड–१९ को खतरा बढीरहँदा स्वास्थ्य विज्ञानमा अध्ययन गरिरहेका विद्यार्थीहरुको प्राक्टिकल कक्षा सञ्चालन भइरहँदा उनिहरु विना खोप काम गर्नु, प्राक्टिकलमा जानु आफैमा जोखिम विषय हो।
स्वास्थ्य क्षेत्रमा काम गर्ने विद्यार्थी होस् या कर्मचारी, उनिहरुले पहिलो प्राथमिकतामा खोप पाउने अधिकार रहेको हुन्छ। जो फिल्डमा प्रत्यक्ष काम गर्छ, त्यसलाई केन्द्र सरकारले पनि प्राथमिकतामा राखेको छ। तर कोभिडको जोखिममा रहेर स्वास्थ्य क्षेत्रमा काम गर्ने विद्यार्थीहरुको विषयमा केन्द्र सरकारको नितीले पनि अप्ठारोमा पारेको छ। उहाँहरुले यस विषयमा चासो लिनुभएन वा जानकारी गराइएन।
स्वास्थ्य क्षेत्रमा काम गरिरहेका, स्वास्थ्य क्षेत्रमा प्राक्टिकल गर्नुपर्ने विद्यार्थीहरुको लागि खोप व्यवस्थाको लागि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीसँग कुरा गरी गण्डकी प्रदेशमा कति जना स्वास्थ्यमा कार्यरत र अध्ययनरत विद्यार्थीहरु कोभिडको जोखिम मोलेर काम गरेका छन् इङ्गित गरी डाटा लिएर उनिहरुको अधिकारलाई सुनिश्चित गरी जति सक्दो चाडो खोप व्यवस्था गर्न पहल गर्छु।







