गलकोट, २२ साउन : जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई पक्की पुल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेसँगै यात्रुलाई सहज भएको छ । बर्खाको समयमा निकै समस्या झेलेर पुल निर्माण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले स्तरोन्नति गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुलमध्ये लुकुरबन खोलाको पक्की पुलमा सवारी गुड्न थालेका छन् भने भालुवाङ खोलाको पुल ९५ प्रतिशत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । यो दुवै पुल बनेपछि बर्खायाममा दुईवटा खोलामा गाडी परिवर्तन गर्नुपर्ने र पैदल यात्राको सकस बेहोर्नुपर्ने बाध्यता अन्त्य हुन थालेको छ ।

अहिले बुर्तिवाङ–तमानखोला सडक ग्राभेल गरेसँगै बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ तर पुल अभावमा बर्खाको चार महिना समस्या भए पनि आगामी बर्खामा यस्तो समस्या नहुने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

“लुकुरबन खोलाको पुलमा सवारी हिँड्न थाले, भालुवाङमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ, बर्खाको चार महिना गाउँपालिकाको केन्द्रसम्म यातायातको सम्बन्ध विच्छेद हुने अवस्था अब अन्त्य भएको छ, पालिका सदरमुकामदेखि माथि त धेरै पुल बन्न बाँकी नै छन्”, अध्यक्ष बुढाले भन्नुभयो “दुर्गम मानिएको बोङ्गादोभान बजारमा बुर्तिबाङबाट एक घण्टाभित्रै पुग्न सकिने भएको छ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सडक र पुल निर्माण गरेर दुर्गम मानिएको गाउँपालिकाको परिचय बदलिएको छ ।”

अध्यक्ष बुढाका अनुसार हिउँदमा तमानखोलाका सबै वडामा सवारी पुग्ने सडक बनाइएको छ । बुर्तिवाङबाट तमानखोला सम्मको नौ दशमलव आठ किलोमिटर सडक ग्राभेल गर्नका लागि २०७५ साल वैशाख १० गते कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरी रु १७ करोड नौ लाखमा सडक निर्माण सम्पन्न गरिएको छ ।

उक्त सडकमा दुई पक्की पुल निर्माण करिब सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिनुभयो । “बर्खामा ढलान गरेको भालुवाङ खोलाको पुल झण्डै बगाएको थिएन, प्राविधिक, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकाको सहयोगमा खोलालाई धार परिर्वतन गराएर क्षतिबाट जोगायौँ, ढलान भएको केही दिनमै उक्त खोलामा बाढी आएको थियो”, पाण्डेले भन्नुभयो, “उक्त खोलाको पुल निर्माण ९५ प्रतिशत सकिएको छ, लुकुरबनको पुलमा सवारी गुड्न थालेका छन् ।”—– खेमराज गौतम