नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक सुधारको आवश्यकता भएको गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृती, बिज्ञान प्रविधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले बताउनुभएको छ।
शिक्षा निति आवश्यक अनुसार नबढ्दा शिक्षा क्षेत्रमा ठूलो लगानी राज्यले गर्दा गर्दै पनि विदेशी शिक्षाको आधारमा कमजोर देखिएको बताउँदै, अबको शिक्षा निती पुरानो घोकन्ते पढाई नभई प्राक्टिकल बेसमा श्रब्य दृष्य सहितको विद्यार्थीको क्षमता अभिबृद्धि गर्न सकिने शिक्षाको आवश्यक भएको औल्याउनुभयो।
मन्त्री श्रेष्ठले आफू ४० वटा भन्दा बढी देशमा व्यक्तिगत खर्चमै घुमेको अनुभव सुनाउदै गुणस्तरीय शिक्षा उत्पादन गर्नको लागि कलिला बालवालिकालाई स्वतन्त्रता छोडिन्छ। उनिहरुलाई पढ्नको लागि बातावरण सृजना गरिन्छ। बालवालिका पढ्दा पढ्दै उनिहरुमा थकान महशुस हुन्छ र दिमागलाई ताजा स्फूर्त बनाउनकोलागि उनिहरुलाई रिफ्रेसमेण्टको आवश्यक पर्छ। तर हामी पढ्नलाई मात्र लदाउछौं, उनिहरुको स्वतन्त्र अधिकार खोस्छौ, जसले गर्दा पढ्न प्रति नै बालवालिका अरुची जाग्न थाल्छ र पढाइप्रति तिरस्कार पैदा गर्दछ। उनिहरुको उच्च शिक्षा हासिल गराउन, राम्रो विद्यार्थी उत्पादन गर्नको लागि विद्यालयमा विद्यार्थीहरु मनोरञ्जनको लागि पढाइसँगै खेल्ने ठाउँको आवश्यक पर्छ, मन्त्री श्रेष्ठ भन्नुहुन्छ।
विद्यार्थी पढ्न सकेन भने उसको शारिरीक, मानसिक तथा संवेगात्मक समस्या के छ त्यस विषयमा जानकारी लिइ कारण पत्ता लगाउनुपर्छ। विदेशमा पढ्न अल्छी लागेमा केही समय स्विमिङ गर्ने, खेलकुदका कार्यक्रममा भाग लिने जस्ता क्रियाकलापमा सहभागी हुने गरेको पाइन्छ। शिक्षा दिंदा पनि श्रव्य दृश्यका सामाग्री मार्फत पढाइन्छ, जसले गर्दा बालवालिका पढाइप्रति आकर्षित हुन्छन्। हामी विदेशका सेवा सुविधा बालवालिका लाई तत्काल दिन नसकेपनि केही स्थानीय पूर्वाधारहरु खडा गरेर बालवालिकालाई पढाइप्रति लगाब बढाएर गुणस्तरीय शिक्षा दिन सकिने उहाँले बताउनुभयो।
प्रदेश शिक्षा नीति तथा कार्यक्रम बनाएर कोरोनाबाट थला परेको शैक्षिक संस्थालाई पुरानै अवस्थामा फर्काउन प्रदेश सरकार तयारी रहेको बताउनुभयो। शिक्षा क्षेत्र कोरोनाका कारण नराम्रो सँग प्रभावित भएको अबस्थामा बिद्यार्थीलाई प्रभाबकारी शिक्षा दिन र अनलाइन शिक्षालाई ब्यबहारिक बनाउन आवश्यक रहेको बताउदै मन्त्री श्रेष्ठले यसका लागि प्रदेश सरकार विज्ञहरुको छलफलमा जुटेको बताउनुभयो ।
गण्डकी प्रदेशमा शिक्षा क्षेत्रलाई उत्कृष्ट बनाउनको लागि शिक्षा नीति तर्जुमा चाडै घोषणा गर्ने बताउँदै उहाँले गण्डकी प्रदेशका जनता र वालवालिकाको भविष्य उज्जवल बनाउन आफू लागि पर्ने जानकारी गराउनुभएको थियो।
त्यसैगरी महिलालाई आत्मनिर्भर र सशक्तिकरणको लागि “महिला जागृति अभियान” चलाउने बताउँदै “उद्योगी महिला, सक्षम महिला”को नारामा मात्र सीमित नभई दक्ष महिला जनशक्तिको उत्पादनमा प्रदेश सरकारले विशेष योजना ल्याउन लागेको बताउनुभयो। साथै, जेष्ठ नागरिकहरुको लागि स्वास्थ्य उपचार र प्राविधिक सहितको नागरिक सेवा केन्द्र स्थापनाको लागि आफु प्रयासरत रहेको बताउनुभयो।
आमा बुवाहरुले घरमा एक्लोपन नहोस् भनी उहाँहरुलाई स्याहार–सुसार, समय समयमा स्वास्थ्य जाँचको आवश्यक हुन्छ, कुनै एक ठाउँमा खाजा, नास्ता निःशुल्क उपलब्ध गराउने, स्वास्थ्य जाँच तथा उपचार गर्ने स्थान बनाउन सके खुसीका साथ रमाउँदै बाँकी जीवन जीउन सहज र पारिवारीक स्नेह मिल्ने बताउनुभयो।