दमक, १३ साउन : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ । प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो । ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । –––रासस