सरकारले गण्डकी र लुम्बिनीमा प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्तको प्रक्रियामा गएका छन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो । अघिल्लो सरकारले उहाँलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका शेरचनलाई नेकपा(माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुनुहुन्थ्यो ।
बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै हुनुहुन्छ ।
यसैगरी बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्बाट भएको उहाँले बताउनुभयो ।