पोखरा ः पोखरामा रहेको मणिपाल शिक्षण अस्पताललाई दिवंगतको सम्झनामा परिवारले शुक्रबार एक कार्यक्रममा विच ह्विलचियर सहयोगका गरेका छन्।
मनिपालमा निधन भएका हिमादेवी खड्का र ईन्द्र कुँवरको स्मृतिमा मनिपाल शिक्षण अस्पतालमा २ वटा ह्विल चियर र २ वटा खानेपानी ट्याकी सहितको जार अस्पतालका डिन डा. डिसी अग्रवाललाई सामुहिक रुपमा परिवारले हस्तान्तरण गरेका थिए।
पोखरा–१७ का उर्मिला खड्का र १५ बस्ने सावित्री खड्काले आफ्नी आमा हिमादेवी खड्काको सम्झनामा र पोखरा १५ का सुदिक्षा कुँबर र नारायणी कुँबरले आफ्ना बुवा इन्द्र कुँबरको स्मृतिमा सम्झना स्वरुप अस्पताललाई ह्विल चियर सहयोग गरेको बताउनुभयो।
उपचारको क्रममा दिन रात नभनी डाक्टर, नर्स, कर्मचारी र अस्पताल प्रशासनले सहयोग गर्दा गर्दै पनि उहाँहरुलाई बचाउन नसकेपनि उपचारको क्रममा ह्विलचियरको महत्व अस्पतालमा बढी देखिएकोले सहयोग गरेको उर्मिला खड्काले बताउनुभयो। उहाँले “समुन्द्रमा एक अङ्खरा पानी झिक्नु र राख्नुले कुनै महत्व नराखेपनि यो सहयोगले महत्वपूर्ण अर्थ राख्छ,”भन्नुभयो।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले शंकटको अवस्थामा स्वास्थ्य उपचार र पत्रकारिता क्षेत्रको भूमिका बताउँदै “उपचार पद्धति र स्वास्थ्य अवस्था संकटको वेलामा थाहा हुने रहेछ। स्वास्थ्य क्षेत्रमा दिनरात नभनी खटिने स्वास्थ्यकर्मी र आफ्नो ज्यानको माया नगरी अहोरात्र खटिने पत्रकारलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ,” भन्नुभयो।
स्वास्थ्य क्षेत्रमा ठूलो लगानी हुँदा हुँदै पनि भावी रोगका समस्या र समाधानलाई उपचार गर्ने पद्धति विकास नहुँदा विश्व नै असुरक्षित अवस्थामा पुग्नु दुर्भाग्य रहेको जानकारी गराउनुभयो। पत्रकारहरुको उपचारको लागि विभिन्न अस्पतालसँग सहकार्य गरेको बताउँदै मनिपालले आवश्यक ठानेमा पत्रकार महासंघ कास्की सहकार्य गर्नमा तयार रहेको अध्यक्ष भण्डारीले जानकारी गराउनुभएको थियो।
मनिपाल शिक्षण अस्पतालका डिन डा.डिसी अर्गवालले मनिपाल शिक्षण अस्पताल पैसा कमाउनको लागि नभई सेवा गर्ने उद्देश्यका साथ नेपालमा अस्पताल खोलेको जानकारी गराउनुभएको थियो। उहाँले “मनिपालले उपचारमा मात्र गराउने नभई नेपालको शिक्षा क्षेत्रमा समेत सबैभन्दा राम्रो दक्ष डाक्टरहरु उत्पादन गर्ने संस्था हो। मनिपालमा अध्यापन गरेका विद्यार्थीहरु विश्वका हरेक कुनामा स्तरीय डाक्टर बन्नु गर्वको कुरा रहेको छ,” भन्नुभयो। साथै, नेपालको मेडिकल कलेजको शिक्षा उच्च र गुणस्तर बनाउनमा मनिपाल शिक्षण अस्पतालको केही हात रहेको उहाँले बताउनुभयो।
अस्पतालका प्रशासन प्रमुख भानु भारद्धाजले मणिपाल अस्पताल पैसाका लागि मात्र नभई सेवाका भावनाले स्थापित भएको बताउँदै यहाँ उत्पादित चिकित्सा क्षेत्रका जनशक्ति विश्वका विभिन्न स्थानमा आफुलाई स्थापित गर्न सकेको धारणा राख्नुभयो ।
अस्पतालका लेखा अधिकृत राजेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा डारेक्टर डा. विके तनेजा र डा. कृष्ण बाहागेङकर, अस्पतालका विभिन्न क्षेत्रका प्रमुखहरुको उपस्थिति रहेको थियो।