काठमाडौं ः जापानबाट कोरोनाविरुद्धको १६ लाख डोज खोप आउने भएको छ।
नेपालको लागि जापानबाट अस्ट्राजेनेका खोप केही दिनमै आउने भएको बताएको छ । नेपाल स्थित जापानी राजदूत किकुता युताकाले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटमा जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले समाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराउनुभएको छ।
राजदूत युताकाले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर देउवासँग आज भेट गर्नुभएको हो।
उक्त भेटघाटका क्रममा जापानले उपलब्ध गराउने भनेको १६ लाख डोज कोरोनाविरुद्धको कोभ्याक्सिन केही दिनमै नेपाल आइपुग्ने जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको हो। जापानले कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई कोभिडविरुद्धको अस्ट्राजेनेका खोप १६ लाख डोज दिने घोषणा केही साताअघि गरेको थियो।
अक्सफोर्डको अस्ट्राजेनेका फर्मुलामा उत्पादन गरिएको यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो। यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब ६५ वर्षमाथिका १० लाख ज्येष्ठ नागरिकसहित १३ लाख ६५ हजार बढीले पाउनेछन्।








