सरकारी स्तरबाट संचालन भएका विद्यालयको शैक्षिक गुणस्तर खस्कदो अवस्था आउन थालेपछि शिक्षा मन्त्रालय यसको सुधार पक्षमा जान थालेको छ । शिक्षकले विद्यालयमा पढाउन भन्दा पनि बढी राजनीतिमा समय दिन थालेको तथ्याङ्क आउन थालेपछि मन्त्रालयले नयाँ कानुन ल्याउन थालेको हो । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै जाने कानुनी व्यवस्था गर्न लागेको जनाएको छ ।

यसअघि विभिन्न राजनीतिकदलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउदै आएपनि त्यो विषय कार्यान्वन हुन सकेको थिएन । सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । कुनै पनि विद्यालय शिक्षकले अब उप्रान्त कुनै पनि राजनीतिक दलको पार्टी सदस्य तथा समिति पदाधिकारी हुन नपाउने, भएमा शिक्षक पद बाँकी नरहने कानुनी ब्यवस्था गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् । उक्त विषय सरकारद्वारा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

दलीय राजनीतीकरणले विद्यालय शिक्षाको गुणस्तरमा गम्भीर नकारात्मक असर पारेको अवस्था देखिएपछि आयोगले शिक्षकलाई राजनीतिमा नलाग्ने गरी प्रतिबन्ध लगाउन लागेको हो । आयोगका सदस्य सचिव एवं शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले प्रतिवेदन सार्वजनिक भएपछि मात्रै यो विषयमा जानकारी दिने बताए । विद्यालयभित्र कुनै पनि शिक्षकले राजनीति गर्न पाउँदैनन् तर यस्लाई कडाइका साथ कार्यान्वयन गर्न कानुन ल्याउनैपर्ने विषयमा छलफल भइरहेको छ उनले बताए । 

आयोगले तयार गरेको प्रतिवेदनको खाकामा उक्त विषय समावेश भए कडा प्रतिवाद गर्ने आयोगका स्थायी आमन्त्रित सदस्य एवं शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले बताए । प्रतिवेदन अध्ययन गरेपछि मात्रै यस बिषयमा बोल्ने महासंघले जनाएको छ । तर शिक्षकले राजनीतिक गर्न पाउनै हुन्न भन्ने विषयमा हाम्रो घोर आपत्ति छ । विद्यालयभित्र पाइँदैन, बाहिर पार्टीगत रुपमा राजनीति गर्न पाउने अधिकार हामीसँग छ । ट्रेड युनियन अधिकारमा बन्देज नभएको विषय दस्तावेजमा समेटेर शिक्षकले राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउनु र शिक्षकको पद बाँकी नरहने कानुनी व्यवस्था गर्नु गलत मनसाय भएको उनको टिप्पणी थियो ।

विद्यालयमा कार्यरत अधिकांर शिक्षक कुनै न कुनै पार्टीमा आबद्ध हुने र खुलेरै राजनीति गर्ने परम्परा बढेपछि आयोगले शिक्षणलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध गर्ने कानुनी व्यवस्था गर्न लागेको हो । मन्त्री भएपछि विद्यालय शिक्षकले राजनीति गर्न नहुने भने तापनि अधिकांश मन्त्रीहरु आफ्नो पार्टी निकटका शिक्षक संघ, संगठनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने गरेका छन् । शिक्षकलाई राजनीतिक प्रतिवन्धबारे सामाजिक अगुवाहरुले खुलेर प्रंशसा गरेका छन् । उनीहरुले छिटो भन्दा छिटो कानुन ल्याएर शिक्षकलाई राजनीतिक क्षेत्रबाट अलग राख्न उनीहरुले सरकार सगँ माग गरे ।