पोखरामा आज शनिबार लक्षित समूहलाई खोप लगाउने कार्यक्रम स्थगित भएको छ।
कोभिड विरुद्धको खोप अभियान लक्षित समूहलाई नेपाल सरकारले असार २९ गतेबाट सञ्चालन गर्न भनिएपनि पोखरामा ३० गतेबाट सम्पूर्ण वडाबाट सञ्चालन भएको थियो।
पहिलो, दोस्रो र तेस्रो चरणमा खोप अभियान सञ्चालन भएपनि चौथो दिन श्रावण २ गतेको खोप अभियान कार्यक्रम स्थागित गरिएको छ।
प्राप्त मात्रामा खोप नभएको भन्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा महानगरपालिका अन्तरर्गतका खोपकेन्द्रमा खोप उपलब्ध गराउन नसकेकोले खोप स्थगन गरिएको बताएको छ।
स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख बाबुराम आचार्यसँग बुझ्दा पोखरामा माग गरिएको ३६ हजार खोप २ दिन अगाडि नै सकिएको र विहिबार थप खोप ५ हजार ८ सय काठमाण्डौंबाट ल्याएको पनि खपत भएपछि कास्की जिल्लाका अन्य कम खपत भएका जिल्लाबाट थप ३ हजार खोप सापट स्वरुप माग गरि शुक्रबारको कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
पोखरामा हामीसँग भेरोसेल खोप स्टकमा नरहेको कारण पोखरामा शनिबार लगाइने भनि राखिएको कार्यक्रम स्थगित गर्न बाध्य भएको प्रमुख आचार्यले बाघपाइलालाई बताए।
नेपाल सरकार र अमेरिकन दुुतावासको समझदारीमा खोप लगाउने भनिएको जोन्सन एण्ड जोन्सन खोप कास्कीमा उपलब्ध भएपनि सरकारी संयन्त्र अनुसार खोप नलगाउनु भन्ने आदेश आएकोले जोन्सन खोपलाई सञ्चालन गर्न नसकिएको प्रमुख आचार्य बताउछन्।
अघिल्ला दिनमा ठूलो भिडभाड र लक्षित समूह भन्दा बाहिरका व्यक्तिले खोप लगाएपछि आज विहानै देखि केही खोपकेन्द्रमा खोप लगाउन पुगेका व्यक्तिले सूचना ढिला दिँदा पानी रुज्दै अनावश्यक दुःख पाएको बताएका थिए। खोप नभएको भए अघिल्लो दिनमानै सूचना दिनुपर्छ भन्दै उनिहरुले आक्रोश व्यक्त गरेका थिए।