मुद्रण उद्योग संघ कास्कीद्वारा कोभिड संक्रमित कर्मचारीलाई बुधबार एक कार्यक्रमका विच नगद राहत रकम वितरण गरेको छ।
मुद्रण उद्योग संघ कास्कीमा आबद्ध भएका व्यवसायमा कार्यरत कोभिड संक्रमण भएर स्वास्थ्य लाभ गरेका ९ जना कर्मचारीहरुलाई राहत स्वरुप नगद ५ हजारका दरले नगद हस्तान्तरण गरिएको संघका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले बताए।
उनले कार्यक्रममा बोल्दै व्यवसायीहरु कोभिडको कारण सञ्चालक आफै मारमा पर्दा पर्दै पनि व्यवसायमा कार्यरत कर्मचारीहरुलाई हौसला र अभिभावको जिम्मेवारी बोध गर्दै नगद हस्तान्तर गरेको बताए। “संस्थाको जिम्मेवारी सञ्चालकलाई जति हुन्छ त्यस संस्थाले उचाई लिनको लागि कार्यरत कर्मचारीको भूमिका अझ बढी हुन्छ। कर्मचारीहरुको सुरक्षा र जिम्मेवारीमा सञ्चालकले अभिभावकको भूमिका निर्वाह गर्नु पहिलो कर्तव्य हो,” उनले भने।
व्यवसायी र श्रमिकहरुको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा खोपको माग गरेको र मागलाई उचित सम्बोधन गर्ने आश्वासन जिल्ला प्रमुखबाट पाएको अध्यक्ष श्रेष्ठले जानकारी गराएका थिए।
राहत वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष नारायण कोइरालाले उद्योग सञ्चालन गर्ने सञ्चालकको साझा संगठन उद्योग वाणिज्य संघ भएपनि उद्योगमा कार्यरत कर्मचारीहरुको संरक्षण विना उद्योगको विकास र बृद्धि हुन नसक्ने बताउँदै आफूले मालिक र श्रमिकका समस्यालाई साझा मुद्धाका रुपमा उठाउन पछि नपर्ने बताए।
उनले भने “अहिलेको समस्या भनेको सबै मिलेर कोभिड–१९ का विरुद्धमा लड्दै व्यवसायलाई सुरक्षित गर्नु पहिलो कर्तव्य हो। खोप सबै व्यवसायी र श्रमिकहरुलाई आवश्यक छ अन्यथा व्यवसाय चलाउन सकिने अवस्था छैन।”
सम्पूर्ण व्यवसायी र श्रमिकहरुलाई १ हप्ता भित्र खोपको सुनिश्चितता गर्नको लागि सम्बन्धित निकायमा जानकारी गराएको बताउदै “सम्बोधन नभएमा कास्कीका सम्पूर्ण उद्योग व्यवसाय बन्द गरि आम हड्ताल गर्नेछौं, सरकारले भनेका हरेक कुरा मानेका छौं। बन्द गर भन्दा बन्द गरियो, खोल भन्दा खोलियो तर अब आफ्नो सुरक्षाको लागि उद्योग व्यवसाय बन्द गर्नुपरेमा त्यसको जिम्मेवार सम्बन्धित निकाय हुनेछ,” उनले भने।
खोप लगाउने क्रममा घरमा बुवा आमालाई लगाइयो तर अहिले कोभिडको दोस्रो चरणमा ३५ वर्षदेखि ६० वर्ष समूहका भित्रका धेरै साथीहरु गुमाएको दुःखद घटना सुनाउदै कतै हामीले गल्ती त गरेनौ ? भन्दै आफैलाई प्रश्न गरेका थिए। “घरमा आफू सुरक्षित भएमा घरपरिवार सुरक्षित हुन्छ। बृद्ध बुवा आमा घरबाट बाहिर निस्कनु हुन्न तर हामी दिन रात कामको सिलसिलामा डुल्नुपर्ने हुन्छ। संक्रमण हामीमा हुन्छ र हामी नै सुरक्षित नहुँदा परिवारका सम्पूर्ण सदस्य संक्रमित भएका घटना अहिले देख्न परेको छ,” उनले भने
आफूलाई खोप लगाउन अनुरोध गरेपनि सम्पूर्ण उद्योग व्यवसायी र कर्मचारीहरुले खोप नलगाएसम्म खोप नलगाउने निर्णय गरेको अध्यक्ष कोइरालाले उक्त कार्यक्रममा बताए।
मुद्रण उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमयाले मुद्रण क्षेत्र अतिसंवेदनशिल रहेको बताउँदै मुद्रण उद्योगको फ्रन्ट लाइनमा कार्यरत कर्मचारीहरु धेरै व्यक्तिसँग प्रत्यक्ष भेट हुनेभएकोले खोप नलगाएको खण्डमा धेरै जना संक्रमण हुन सक्ने बताउँदै खोपको आवश्यकता पहिलो भएकोले सम्बन्धित निकायलले ध्यान दिन जरुरी रहेको जानकारी गराए।
त्यसैगरी संघका निवर्तमान अध्यक्ष पदमलाल श्रेष्ठले आर्थिक वर्ष सुरुवात सँगै सरकारी निकाय, हस्पिटल, नियमित छपाइ गर्नुपर्ने पत्रपत्रिकाहरु मुद्रण उद्योगमा नै छपाई गर्नुपर्ने भएकोले आफूहरु सुरक्षित नरहँदा सबै तहलाई यसले प्रत्यक्ष असर पार्ने तर्क व्यक्त गरेका थिए।
दोस्रो भेरिएण्टको कोभिड–१९ बाट संक्रमण भई स्वास्थ्य लाभ गरेका कञ्चन कम्प्युटरमा कार्यरत कर्मचारी सुरज आचार्यले राहत वितरणले आफूलाई हौसला प्रदान गरेको बताए। उनले संक्रमणको समयमा भएका घटनालाई सम्झदै आफ्नो अनुभव जानकारी गराएका थिए। आफूले काम गर्ने कर्मथलो दोस्रो घर भएको बताउँदै ईमान्दारीता पूर्वक काम गर्नुपर्ने बताए।
संघका बरिष्ठ उपाध्यक्ष चिन्तामणी बास्तोलाले कार्यक्रममा उपस्थित सम्पूर्णमा स्वागत गरेका थिए भने संघकै प्रथम उपाध्यक्ष जिवन गोर्खालीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। संघका महासचिव रामप्रसाद भुर्तेलले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले समापन गरेका थिए।









