लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौडा र आसपासका वस्ती डुवानमा परेका छन् ।
लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानीका कारण यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह््रसय चौतारा, एकानब्बेको बान्नो लगायतका स्थानमा प्रत्यक्ष प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी पोखरा – ३२ उपशाखाका सभापति किसन परियारले जानकारी गराए।
आँफूहरूले यस सम्बन्धमा स्थानीय सरकार समक्ष पनि जानकारी गराएको उनले बताए । तत्कालिन समस्याको समाधानका लागि पहल गर्दै यसको दीर्घकालिन समाधानतर्फ ध्यान दिनु अपरिहार्य भएको उनले बताए । बाढीका कारण नहरमा आएको अनियन्त्रित पानीका कारण बाह्सय चौतारा एवम् नविन टोल माथि साविक एकानब्बेको बान्नो भन्ने स्थान नजिकै नहरको पानीले पिच बाटो कटान गर्दै जान थालेपछि थप समस्या पर्ने देखिएको उनको भनाइ छ । उहाँका अनुसार बाढीका कारण स्थानीयवासी सहित शहरी स्वास्थ्य केन्द्रको भवन समेत जोखिममा परेको छ ।
यस क्षेत्रमा बाढीका कारण पीडामा परेका जनताको समस्या समाधान गर्नुपर्ने बताउँदै उनले राज्यले सञ्चालन गरेको विपद् व्यवस्थापन कोष मार्फत तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए। शहरी स्वास्थ्य केन्द्र भन्दा तल रहेको खुदी खोला १ नं का वस्ती पनि जोखिममा रहेका कारण सजग रहन आग्रह गरिएको छ ।
नहरमा आउने पानीलाई व्यवस्थित नगरिदा यस क्षेत्रमा सिंचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा वर्षेनी समस्या बढीरहेको स्थानीयवासीको गुनासो छ । पोखरा–३२ का विभिन्न स्थानमा बाढीका कारण परिरहेको प्रभावको दीर्घकालिन समाधानका लागि वडाका तर्फबाट सम्बन्धित निकायहरूमा पहल गरिएको वडा अध्यक्ष अक्कलबहादुर कार्कीले बताए।