कांग्रेसका नेता तथा टे«ड युनियन कांग्रेस राष्ट्रिय समिति सल्लाहकार रामजी कुँबरको शब मंगलबार पोखरा शान्तिवन नजिकैको घाटमा अन्त्येष्टि गरिएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि पोखराबाट आकस्मीक उपचारको लागि हेलिकप्टरबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाण्डौमा लगिएको थियो।
उनको उपचारको क्रममा सोमबार अस्पतालमा नै निधन भएको थियो। मंगलबार काठमाण्डौं टे«ड युनियनको सभाहलमा श्रद्धाञ्जली अर्पण कार्यक्रम पश्चात दिउँसो २ बजे पोखरा ल्याई आफ्नै निवासमा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो।
श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस नेता अर्जुननरसिंह, गगन थापा, अर्जुन जोशी, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल, पोखरा महानगर पालिका प्रमुख मानबहादुर जिसी लगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, सामाजिक व्यक्तित्व एवम् स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा कुँबरको निधनले आफूलाई दुःखी तुल्याएको बताउँदै कुँबर प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन आन्दोलनका अगुवा रामजी कुँवरको निधनप्रति दुख व्यक्त गरेका छन् । सोमबार शोक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान वरिष्ठ उपाध्यक्ष, अनन्य मित्र रामजी कुँवरको असामयिक निधनले अत्यन्तै मर्माहत बनाएको उल्लेख गरेका छन् । निधन भएका कुँवरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सच्चा मित्र, सामाजिक र राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको सहयोद्धालाई गुमाउँदा अपुरणीय क्षति भएको अनुभूति गरेको बताएका छन्। स्थानीय तह निर्वाचन २०७४ मा पोखरा महानगरपालिका प्रमुखको प्रत्यासी कुँवरलाई स्वच्छ, लोकतान्त्रिक अभ्यास कर्ताको रुपमा चिनेको जिसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेपाल टे«ड युनियन कांग्रेस केन्द्र, गण्डकी प्रदेश तथा जिल्लाले कुँबरको निधनले अभिभावक एवम् मार्गदर्शक गुमाउदा ठूलो क्षति पुगेको बताउँदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ भने शोक सन्तप्त परिवारजन प्रती हार्दिक समबेदना प्रकट गरेको छ।
२०१२ असोज १२ गते जन्मिएका ६५ वर्षिय कुँवर नेपाली लोकतान्त्रिक आन्दोलनका अथक योद्धा थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्।