फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ८५ करोड ३० लाख ४० हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
फलेवास नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट एकैदिनमा सार्वजनिक गरेको हो । नगरसभामा नीति तथा कार्यक्रम पास गरेर बुधवार नै बजेट सार्वजनिक गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी गराए ।
फलेवासनमा चालु तर्फ रु. ३० करोड ६८ लाख, पूँजीगत तर्फ ३९ करोड ३२ लाख र सामाजिक सुरक्षा तर्फ १५ करोड २९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको शर्माले बताए । नगरपालिकाको बजेट नीति तथा कार्यक्रममा कोभिड १९ प्रकोप व्यवस्थापन, विपन्नको आयआर्जन र स्वरोजगार, कृषि, पर्यटन, पूर्वाधार विकास, उर्जाको विकासमा जोड दिईएको छ ।
नगरपालिकाको बजेटमा बिगत वर्षहरुमा शुरु गरेका र कल्पना गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न जोड दिईएको छ । क्रमागत योजनाको निरन्तरतालाई बजेटमा समेटिएको छ । नीति तथा कार्यक्रम सभाबाट पारित गरि राजस्व परामर्श समितिका संयोजक एबं उपप्रमुख मञ्जु अधिकारीले बजेट प्रस्तुत गरेकी थिइन्।
नयाँ अर्थिक वर्षको लागि अगाडी वढाएका कार्यक्रममा फलेवासका गाउँ नमुना आफै वनाऔं टोल विकास संस्था मार्फत कार्यक्रम सञ्चालन, संघीय सरकारवाट कुनै सुविधा नलिएका ५० देखि ७० वर्ष सम्मका विदुरहरुलाई प्रोत्साहन, महिला स्वयंसेविका, विद्यालयका अस्थायी शिक्षक, कर्मचारी, सहकारी, निजी क्षेत्र, सामाजिक संघसंस्था, खानेपानी उ.स., सामुदायिक विद्युतमा काम गर्ने कर्मचारीलाई पेन्सनमा समाहित, समावेशी समिति मार्फत लक्षित समुदायको सशक्तिकरण र आयआर्जन कार्यक्रम, नगर युवा परिषद मार्फत फलेवासका युवा सभ्यताका खम्वा कार्यक्रम, स्वास्थ्य आमा समुह, युवा क्लव, वाल क्लव मार्फत क्लिन फलेवास ग्रिन फलेवास अभियान, जेष्ठ नागरिकको साथमा नगरप्रमुख कार्यक्रम, महिला सशक्तिकरणका लागि उपमेयर कार्यक्रम, ज्यालादारी, करार र अस्थायी कर्मचारीलाई पेन्सन योजनामा समावेश, फलेवास, कार्किनेटा थापाठाना गाउँ शान्तिवाटिका र डहरे घुम्न जाउँ, कार्किनेटा, कर्नास र मल्यांदी मा प्रवेशद्धार निर्माण, एक वार्ड एक युवा क्लव एक टोल एक क्लिन टोल ग्रिन टोल वालक्लव र एक टोल एक चौतारी पोखरी कार्यक्रम रहेका छन्।
त्यसैगरी विगत वर्षका कार्यक्रममा १३०० परिवारमा श्रमिक पेन्सन योजना पु¥याउने, प्रमुख प्रशासकीय भवन र सवै वडा कार्यालयहरु निर्माण, कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचार, कोभिड विरुद्धको खोप व्यवस्थापन, फलेवास नगर अस्पतालको स्तर वृद्धि, स्वास्थ्य चौकीहरुको भौतिक सुधार, विद्यालयमा प्रविधिमैत्री पठनपाठन र शैक्षिक गुणस्तर सुधार, मुख्य वस्तीको ५ मिनेटको दुरीमा मोटरवाटो, केन्द्र चक्रपथ कालोपत्रे सम्पन्न, भित्र चक्रपथ स्तरोन्नती, वाहिरी चक्रपथ नियमित गाडी चल्ने स्तरमा पुर्याउने, काठेपोललाई फलामे पोलमा रुपान्तरण गरी सुरक्षित उज्यालो नगर घोषणा, सवै घरपरिवारमा शौचालय निर्माण, ७० प्रतिशत घरधुरी एक घर एक धारा कार्यक्रम कार्यान्वयन, मनमोहन शान्तिवाटिका निर्माण, मदनभण्डारी पार्क, वि.पि. स्मृति पार्क एवं भवन निर्माण, वृहत कृषि फर्म, एक वार्ड एक कृषि तथा पशु फर्म, साना तथा मझौला सिंचाई, टनेल हाम्रो उत्पादन तपाईको, विरुवा हाम्रो फल तपाईको, प्रतिफलामा आधारित प्रोत्साहन अनुदान, वाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन, एक वार्ड एक घरेलु औजार उद्योग, महिला उद्योग, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सुरक्षित आवास तथा मौषमजन्य विपत निजी आवास निर्माण र औधोगिक क्षेत्र, वसपार्क, ड्याप्ङि साईड निर्माणका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ।








