गण्डकी सरकार जनताको पक्षमा काम गर्दै अगाडि बढेको मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले बुधबार पत्रकार भेटमा जानकारी गराएका छन्।
जनताको समस्या नै पहिलो समस्या भएको बताउँदै गण्डकी प्रदेशका जनताको धन र जनको सुरक्षा गर्नु पहिलो कर्तब्य बताउँदै त्यही अनुसार रकमान्तर गरेको बताए।
“मनाङमा बाढी पैह्रो गयो, धन जन को क्षति भयो, बजेट श्रावणबाट सुरु हुन्छ, धन जनको क्षतिको टिपोट भदौमा आउला अनि पीडितको हालत के होला ? त्यही कारण नै हामीले रकमान्तर गरेका हौं। यो कसैलाई बाड्नको लागि गरिएको होइन, जनताको सुरक्षाको लागि गरिएको हो।” मुख्यमन्त्री पोखरेलले भने।
“प्राकृतिक प्रकोपले कुनै समय कुर्दैन समय अनुसार चल्न जान्नुपर्छ। गण्डकी प्रदेशले जे गरेको छ, विज्ञहरु राखी बुझेर काम अगाडि बढाइएको छ। कानुन र नियम भन्दा माथि जनता रहन्छन, जनताको सुरक्षामा ध्यान दिनु पहिलो कर्तव्य रहन्छ,” उनले भने।
प्रेस युनियन कास्कीले राखेको पत्रकार भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री तथा प्रवक्ता कुमार खड्काले गण्डकी प्रदेशको सामर्थ २४ अर्व मात्र रहेको र अघिल्लो सरकारले आफू सरकारमा नरहने थाहा पाएकोले ३८ अर्वको बजेट बनाएको बताए। “अहिलेको सरकार फसेको छ, २४ अर्वको सामर्थ भएको सरकार ३० अर्व पु¥याइएको छ, बहुवर्षिय काम लाई रोक्न मिल्दैन, योजना अनुसार काम गर्दा बजेट पुग्दैन, सोचे जस्तो सजिलो छैन,” उनले भने।
मन्त्री खड्काले केही मिडियामा आएको समाचारलाई खण्डन गर्दै कार्यकर्ता पाल्न रकमान्तर गरेको नभई जनताको धन जन बचाउनको लागि गरेको बताए। एक पैसा पनि चुहावट नहुने गरि काम अगाडि बढाइएको बताए।
गण्डकी प्रदेश र प्रदेशवासीहरुको विकास र समृद्धि अनुसार विनियोजन गरिएको हुँदा अहिले ठीक लाइनबाट अगाडि बढेको हुँदा ढुक्क भएर बस्न प्रदेशवासीलाई आग्रह गरे। “हामीले गरेको कामको मुल्याङ्कन गर्न गण्डकी प्रदेशका जनतालाई अधिकार भएकोले जनताको हित विपरित नयाँ सरकारले कुनै कदम उठाउदैन,” उनले भने।
प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए। उनले उक्त कार्यक्रममा बोल्दै अहिलेको प्रदेश सरकार एतिहासिक र प्रदेशका जनताको आशा बोकेको सरकार भएकोले अघिल्लो सरकारले भन्दा १० गुणा बढि काम गर्न आवश्यक रहेको धारणा राखेका थिए। उनले श्रमजिवी पत्रकारको मनोवल बढाउने खालको कार्यक्रममा प्रदेश सरकारको साथ आवश्यक रहेको बताउँदै प्रेस स्वतन्त्रताका लागि काम गर्नुपर्ने जानकारी गराएका थिए।
कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, प्रेस युनियनका सल्लाकार गंगाधर पराजुली, प्रेस युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङ, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी लगायतले आफ्नो भनाइ राखेका थिए ।
उक्त कार्यक्रम प्रेस युनियन कास्कीका सचिव प्रदिप पौडेलले सञ्चालन गरेको कार्यक्रम उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले समापन गरेका थिए।