पोखराः पोखरामा लकडाउनको उल्लङ्घन गर्ने सवारी दिनप्रतिदिन बढ्दै गएपछि आज अरु दिनभन्दा चेकजाँच कडा गरिएको छ।
विहान ७ बजेबाट नै महेन्द्रपुल चिप्लेढुंगा, पृथ्वीचोक र न्यूरोडमा लगायत पोखराका अन्य ठाउँमा चेकिङमा समातिएका सवारीलाई होल्डडाउन गरिएको छ। जसमा, न्यूरोडमा मात्रै चेकजाँचको क्रममा १ सय ६८ सवारी होल्डडाउनमा परेका छन्।
सवारी चेकिङको क्रममा विभिन्न बाहाना बनाएर २ पाङ्ग्रे तथा ४ पाङ्ग्रे र अन्य सवारीले नियम उल्लंघन गरेपछि कडा सुरक्षाका साथ बसेको प्रहरीले सवारीको चापी लिएको थियो।
विहानबाटै समातिएका सवारीको चापी बेलुका ६ बजेसम्म रोकिएको र उनिहरुलाई सम्झाएर पठाइएको प्रहरी नायव निरीक्षक पूर्ण बहादुर अधिकारीले बताए।
“होल्डमा राखिएका सवारी चालकलाई सम्झाएर पठाएका छौं, भोलिका दिनमा पनि नियम उल्लंघन गरेमा कारवाही गर्छौ भनि सवारी चालकलाई उनिहरुलाई बताएका छौं”, उनले भने।
कोभिड–१९ को संक्रमण दिनानु दिन बढ्दै गइरहदा संक्रमणबाट जोगिनको लागि आफ्नो, परिवार र समाजको विषयमा हरेक नागरिक सचेत हुनु पर्ने अवस्था आएको र यस्तो विषम परिस्थितिमा सचेत बनी केही दिन घरमा नै सुरक्षित साथ बसी अनावश्यक काममा हिडडुल नगर्न अधिकारीले आम नागरिकमा अनुरोध गरेका थिए।
पोखरा न्यूरोडमा मोटरसाइकल र स्कुटर १ सय ५२ वटा, गाडी (जिप) १४ वटा र ट्रक २ गरि १ सय ६८ वटा सवारीलाई बेलुका ६ बजेसम्म होल्डमा राखिएको प्रनानी अधिकारीले बताए।