पदम श्रेष्ठ, बाघपाइला ब्यूरो | पोखरा

आफ्नो ज्यानको बाजी राखेर कोरोना सक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीले कोभिड–१९ को विमा वापतको रकम अझै पाएका छैनन्।
गण्डकी प्रदेशकै ठूलो शिक्षण अस्पताल मनिपालले स्वास्थ्यकर्मी तथा कर्मचारीको ज्यानको जोखिममा राखी घण्टौ उपचारमा खटिदा खटिदै कोरोना संक्रमित भएका उनिहरुले पाउनु पर्ने रकम नपाउँदा निराशा मात्रै भएका छैनन् सेवा नै प्रभावित बन्न पुग्ने खतरा बढेको छ।
स्वास्थ्यकर्मी तथा कर्मचारीले आफ्ना गुनासा राख्न खोज्दा कामबाट नै निकाल्ने धम्की दिदै आएको स्वास्थ्यकर्मी तथा कर्मचरीले बताएका छन्। उनिहरुले पाउने आफ्ना माग र सेवा सुविधाहरुका बारेमा बोल्न सकेका छैनन, प्रशासनले लदाएर काम गराउँदा पनि काम गर्न बाध्य भएका विवश कर्मचारीहरु कतै आफ्नो नाम जोडिएर समाचार नै आयो भने जागिरबाट नै हात धुनुपर्छ कि भन्दै चिन्ता समेत व्यक्त गरेका थिए।
मनिपाल शिक्षण अस्पतालमा अघिल्लो वर्षमा स्वास्थ्यकर्मी र कर्मचारीहरुमध्ये ४७ जना कोरोना पोजेटिभ भए। उनिहरुको नेश्नल इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखामा विमा दावी भुक्तानी माग गरिएकोमा ४२ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुको भुक्तानी मणिपाल शिक्षण अस्पतालको खातामा पठाइसकिएको विमा कम्पनी पोखरा शाखाका प्रवन्धक सुनिल काजी श्रेष्ठले हामीलाई जानकारी गराए।
संक्रमित सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुकोे विमा गरिएको भएपनि अझसम्म कसैले पनि उक्त विमा रकम पाएका छैनन्। विमा रकम अस्पतालमा आएपनि विमा रकम माग गर्दा अब नयाँ संक्रमित कर्मचारीहरुको लागि प्रयोग गर्ने भन्ने तथ्यहिन उत्तर प्रशासनले दिएको मनिपाल शिक्षण अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरु बताउछन्।
कर्मचारीको कोभिड विमाको रकम भुक्तानी सम्वन्धमा किन आलटाल भन्ने वारेमा मणिपाल शिक्षण अस्पतालका एड्मिनिस्टे«शन प्रमुख भानु भारद्धाजसँग प्रतिकृया लिंदा अस्पतालको खातामा पैसा आइसकेको तर टे«ड युनियनसँग छलफल भइराखेकोले समय लागेको बताउनुका साथै कुनै पनि स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफ्नो रकम नपाउने विषय नरहेको र मनिपाल शिक्षण अस्पताल सिस्टम अनुसार चल्ने उनले दावी गरे।
प्रमुख भारद्वाजका अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको कोरोना विमा २ चरणमा गरिएको बताउँदै पहिलो चरणमा सम्पूर्ण प्रिमियम खर्च अस्पतालले व्यहोरेको र दोस्रो चरणमा गरिएको विमा प्रिमियममा अस्पतालले ५० प्रतिशत रु.३०० र स्वास्थ्य कर्मी तथा कर्मचारीले ५० प्रतिशत रु.३०० व्यहोरेको उनले बताए।
विमितले आफ्नो स्वास्थ्य जोखिम मोलेर काम गर्दा हुन सक्ने सम्भावित कोरोनाको जोखिमको क्षति पूर्ति गर्न गरिएको विमा रकम यतिका समय सम्म पनि विमितलाई नदिनु गम्भिर प्रश्नहरु उब्जिएका छन्। मणिपालले स्वास्थ्यकर्मी र कर्मचारीहरुको टे«ड यूनियनहरुले विमा वापत प्राप्त पुरै रकम विमितलाई दिन मणिपाल व्यवस्थापनलाई आव्हान गरेको टे«ेड युनियनका नेताहरु बताउछन्। तर कुनै सुनुवाइ नभएको उनिहरुको गुनासो रहेको छ।
विमा समिति नेपालका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कोभिड–१९ को विमा स्वास्थ्यकर्मी र कर्मचारीहरुको गरिएको तर अस्पतालको त्यसमा कुनै जिम्मेवारी नभएकोले पीडितले विमा भुक्तानी विना शर्त पाउनुपर्ने बताए।
विमा भुक्तानीको सन्दर्भमा विमा गर्ने व्यक्तिलाई गर्ने संस्थाले पुरै विमा गरेको भए संस्थाको नाममा भुक्तानी जाने र संस्थाले पीडितलाई वुझाएको भरपाई विमा कम्पनीलाई उपलव्ध गराउनु पर्ने प्रावधान रहेको विमा समिति नेपालका सूचना अधिकारी निर्मल अधिकारी वताउँछन् ।
पोखरामा रहेको नेश्नल इन्स्युरेन्स कम्पनी लि. ले व्यक्तिको विमा वापत व्यक्तिलाई नै डिस्चार्ज भौचरमा सहि छाप गराउने तर रकम भने मणिपाल अस्पतालमा पठाउने गरेका कारण पीडित विमित मर्कामा परेको देख्न सकिन्छ ।
मणिपालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले गरेको .कोरोना विमा वापतको एक लाख रकम दिलाउन राज्यका सरोकार निकायले तत्काल पहल गर्न आवश्यक छ । स्वास्थ्यक्षेत्रको फ्रन्टलाइनमा आफ्नो ज्यानको बाजी राखेर काम गरेर सेवा दिएकाहरुको मनोवल वढाउन प्रयास गर्ने कि उनिहरुलाई निरुत्साहित पार्ने ? यो प्रश्न आम मानसमा उब्जिएको छ।

मुकदर्शक बन्दै मनिपालका कर्मचारी युनियनहरु

मनिपाल शिक्षण अस्पताल पोखरामा कर्मचारीहरुको हक हित र पेशागत सुरक्षाको लागि भन्दै ३ वटा कर्मचारी युनियनहरु बनेका छन्। नेकपा माओवादी निकट मानिने अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, नेकपा एमाले निकट मानिने नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन र नेपाली कांग्रेस निकट मानिने स्वतन्त्र कर्मचारी युनियन रहेका छन् यिनै तीनै युनियनलाई एकवद्धता गर्दै मनिपाल कर्मचारी युनियन समन्वय समिति समेत बनेको छ।

तर मनिपालमा कार्यरत कर्मचारीहरुको हकहितको लागि झिना हिसावले आन्दोलन भएपनि अहिलेसम्म न राज्यले सुनुवाई गर्न सकेको छ, न मनिपाल प्रशासननले। मनिपालमा कार्यरत एक कर्मचारीले प्रशासन र युनियनहरुकै मिलेमतोमा काम गरेजस्तो भान पर्न लागेको छ उनले भनिन्।

युनियन छ भन्ने परेको छ अझसम्म कुनै ठोस निर्णय लिएर अगाडी बढ्न नसक्दा कर्मचारीहरुले आवश्यक सेवासुविधा पाउन सकेका छैनन्, कर्मचारीहरु सुरक्षित भएमा मात्रै विरामीहरुको सुरक्षा गर्न सकिन्छ भन्दै केही समय अगाडि कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए। उनिहरुले अस्पताल प्रशासनले कोभिड बिरामीको उपचारमा खटिने कर्मचारीका लागि आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका थिए। तर आवश्यक सुरक्षा सामाग्री केही मात्रामा व्यवस्था गरेपनि सेवा सुविधामा हात्तिको मुखमा जिरा जस्तो भएको युनियनकर्मीहरु बताउछन्।

अन्तिम पटक अध्यावधिक गरिएको 137 Viewed

प्रतिक्रिया दिनुहोस्