पोखरा वडा नं. २५ हेम्जाले कोरोना महामारी नियन्त्रण गर्नको लागि कोरोना महामारी नियन्त्रण समन्वय समिति खडा गरी रातदिन काम गर्दै आएको छ।
विश्व महामारीको रुप लिएको कोरोना (कोभिड–१९) ले हेमजामा पनि झण्डै २ सय ५० जना भन्दा बढी संक्रमित भइसकेका छन्।
कोरोना संक्रमणलाई न्यूनिकरण गर्न र संक्रमितहरुको मनोवल उच्च राख्नको लागि समन्वय समितिले २४ सैं घण्टा हेम्जावासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी काम गर्दै आइरहेको समितिका संयोजक मोतिराज तिमिल्सिनाले बताए।
“हामीले जटिल कोरोना संक्रमितहरुको सहजिकरणको लागि एम्बुलेन्स, हस्पिटलको व्यवस्था गर्दै आइरहेका छौं। सामान्य होम आइसोलेशनमा बस्नुभएका संक्रमितहरुको दैनिकी हेरचाह, डाक्टर र नर्स सहित परामर्श दिंदै आइरहेका छौं। उनिहरुको स्वास्थ्यको बारेमा जानकारी लिदै आवश्यक औषधि तथा स्वास्थ्य सामाग्री निःशुल्क वितरण गरिएको छ,” संयोजक तिमिल्सिनाले बताए।
संक्रमितहरुको लागि अन्य खतरा नहोस् भनी अक्सोमिटरमा अक्सिजन लेभल जाँच कसरी गर्ने, संक्रमितलाई घरपरिवारले कसरी हेरविचार गर्ने, कस्तो अवस्थामा हस्पिटल लैजानुपर्ने, परिवारका अन्य सदस्य कसरी सर्तक रहने बारेमा परिवारलाई जानकारी गराइएको उनले बताए।
हेम्जामा स्वास्थ्य उपचारको लागि १ जना नर्स र डाक्टर सहितको हेल्थ डेक्स स्थापना गरिएको, स्वास्थ्य चौकी प्रमुखले अतिरिक्त समयमा पनि काम गर्ने वातावरण मिलाइएको र समितिको तर्फबाट भौतिक दुरी कायम गरी आलोपालो गरी २ जनाले निरिक्षण र जानकारी लिदैैं आएको समेत उनले जानकारी गराए।
त्यसैगरी संक्रमण नफैलियोस् भनी सामुदायिक प्रहरी परिचालन गरि सचेतनामुलक माइकिङ गर्ने, गस्ती गर्ने गरिएको संयोजक तिमिल्सिनाले बताए।
समितिको पहलमा हप्तामा २ पटक पिसिआर जाँच गर्दै आइरहेको भएपनि पहिलो
पिसिआर जाँच गरेको १० दिन भन्दा बढी भएका संक्रमितहरुले पुन जाँच गर्न नपाउँदा उनिहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएको बताए। स्थानीय सरकारले कि दोस्रो पिसिआर जाँच गर्नुप¥यो वा कति समयपछि घरपरिवारसँग घुलमिल हुन मिल्ने हो त्यसको ठेट जवाफ दिएमा सहज हुने उनले बताए।
तिमिल्सिनाको संयोजकत्वमा समितिमा वडानं. २५ वडा सदस्य लक्ष्मी अधिकारी एवम् सहसंयोजकमा कृष्णप्रसाद पौडेल, सचिव चिरञ्जिवी अधिकारी, कोषाध्यक्ष, रमा त्रिपाठी र सदस्यहरुमा विजय पौडेल, परशुराम अधिकारी, मिन बहादुर थापा, आश बहादुर पुन, कृष्ण खड्का र खेम गुरुङ रहेका छन् भने वडा नं. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिना, कमल जंग कुँबर, दान बहादुर थापा, विष्णु बास्तोला, रामचन्द्र त्रिपाठी, शंकरमणी त्रिपाठी र मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका महासचिव बसन्त बास्तोला सल्लाहकार रहेका छन्।

मनिपाल शिक्षण अस्पतालका डाक्टरहरुद्वारा जुम एप्लिकेशनमार्फत होम आइसोलेशनमा भएका संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै आइरहेका छन्।