पोखरा । कोरोना महामारीको चेक ब्रेक गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले १ हप्ता पुन लकडाउन थप गरेको छ। प्रशासनले शुक्रबारदेखि लागु हुने गरी जेठ २१ सम्म निषेधाज्ञा अवधि लम्बाएको हो ।
नेपाल सरकारबाट कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी भई तत्काल लागु हुने व्यवस्था गरेको र उक्त अध्यादेशमा भएको व्यवस्थाको पालना नगरी बाधा अवरोध सिर्जना गरेमा १ वर्षसम्म कैद वा ५ लाख सम्म जरिवाना वा दुवै सजायँ हुने बताइएको छ।
व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले उल्लङ्घन गरेमा ५ लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्ने समेत बताइएको छ।
त्यसैगरी मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे १ सय, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लंघन गर्नेलाई पटकैपिच्छे २ सय जरिवाना गरिने र सवारीसाधनको हकमा उल्लंघन गर्ने दुईपाङ्ग्रे सवारीलाई २ हजार र अन्य सवारीलाई ५ हजार जरिवाना लिने जानकारी गराएकोछ।
थप गरिएको लकडाउनमा अति आवश्यक बाहेकका सेवामा पूर्ण रुपमा प्रतिबन्ध कायमै रहने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम जेठ १४ गते राति १२ बजदेखि जेठ २१ गते राति १२ बजेसम्म कास्की जिल्लाभर निषेधाज्ञाको आदेश लागु गरेका हुन् ।








