फलेवास नगरपालिकाले आफ्नै लगानीमा नगरवासीहरुलाई पुग्नेगरी खोप खरिद गर्ने भएको छ।
नगरकार्यपालिकाको १२ गते बसेको वैठकको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नगरवासीहरुलाई पुग्नेगरी खोप माग गर्ने यदी मन्त्रालयले खोपको व्यवस्था गर्न नसकेमा आफ्नै स्रोतको प्रबन्ध र परिचालन मार्फत नेपाल सरकारले तोकेको मापदण्ड अनुसार खोप खरिद गरी नगरवासीहरुलाई खोप लगाउने कार्य गर्नको अनुमति माग गरेको छ।
फलेवास नगरपालिकामा हालसम्म कोभिड–१९ का संक्रमितहरु १ सय ५ जना पुगेको र ४ जनाको मृत्यु समेत भइसकेकोले नियन्त्रण र रोकथामको लागि अबको विकल्प खोप नै भएकोले जतिसक्दो चाडो सम्पूर्ण नगरवासीहरुलाई खोप लगाउन खोजिएको नगरपालिका प्रमुख पदमपाणी शर्माले बताए।
नगरपालिकाले नियमित रुपमा मोवाइल मेडिकल टिम मार्फत संक्रमण फैलिएको क्षेत्रका घर घरमा पुगी चेकजाँच, परिक्षण र औषधि वितरण गरिएको शर्माले बताएका छन्।
शर्माले “फलेवास नगरपालिकाभित्र कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन तिव्र गतिमा समुदाय तहसम्म फैलिएकोले अब यसको रोकथाम र नागरिकको सुरक्षाको लागि खोप नै उपयुक्त देखिएको छ। अब मन्त्रालयसँग माग गरिएको खोप पाउन नसकेमा हामी आफैले खरिद गरि फलेवास नगरवासीलाई खोप लगाउने अभियान अगाडि बढाउछौं,” भने।
नगर अस्पतालमा दैनिक एन्टिजिन परिक्षण, साप्ताहिक रुपमा पिसिआर जाँच र संक्रमण देखिएका व्यक्तिलाई नगरअस्पतालमा उपचार गरिएको र जटिल समस्या भएकाहरुलाई सुविधासम्पन्न अस्पतालमा पठाइएको नगरप्रमुख शर्माले बताए।