पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाकी ७८ वर्षिय महिलाले कोरोनालाई जितेकी छन्।
कार्कीनेटा ढुंगेठाटी निवासी एककुमारी श्रेष्ठलाई वैशाख १८ गतेबाट सास फेर्न समस्या भएको थियो।
आफूलाई १० वर्ष पहिलादेखि नै दमको रोगी, प्रेसरको औषधि सेवन गर्ने भएकोले असहज महशुस भएको होला भनि हप्तादिन जति सामान्य उपचार गरि घरमै बसेको उनले बताइन्।
२३ गते सास फेर्न कठिन भएपछि स्याङ्जा आई मेडिकलमा जाँच गर्दा अक्सिजन लेभल ५० भन्दा कम भएपछि पोखरामा रहेको मनिपाल शिक्षण अस्पतालमा इमरजेन्सीमा भर्ना गरिएको उनका नाती सुन्दरकुमार श्रेष्ठले बताए। अवस्था सामान्य नरहेको हुँदा उक्त दिननै हजुरआमालाई आइसियुमा राखिएको थियो उनले भने।
शिक्षण अस्पतालले फुलवोडी जाँच गर्दा निमोनिया, दम, ब्लड प्रेसर हुनुका साथै कोरोना (कोभिड–१९) संक्रमित भएको बताएको थियो।
अस्पतालमा करिब १ हप्ताको उपचार पश्चात उनको कोरोना नेगेटिभ आएको थियो। कोरोनाका कारण फोक्सो तथा कलेजोमा समस्याका कारण ४ दिन हस्पिटलमा नै राखी थप उपचार गरिएको नाति सुन्दर कुमार श्रेष्ठले बताए।
“हजुरआमा अहिले ठीक हुनुहुन्छ हामीले घरमा ल्याएका छौं, उहाँको आत्मविश्वास, परिवारको सहयोग, डाक्टर तथा नर्सहरुको हेरविचारले गर्दा उहाँले नयाँ जीवन पाउनुभएको हो,” उनले भने।
कोरोना लाग्यो भन्ने वित्तिकै नआत्तिऔं, सजक रहेर विरामीलाई आवश्यक खानपान, औषधिउपचार, स्वास्थ्य, सरसफाईमा ध्यान दिनुपर्छ। उनिहरुलाई त्यो समयमा माया र आत्मविश्वासको कमी हुनु दिनुहुन्न जसले गर्दा अन्य समस्या नहोस्। सास फेर्न र अन्य जटिल समस्या देखिनासाथ घरमानै उपचार गर्ने भनेर नराखौं, त्यसले जटिल समस्या पर्न सक्छ, उनले भने।
उनका कान्छा छोरा सरोज श्रेष्ठले भने “आमाको अवस्था नाजुक भइसकेको थियो हस्पिटलमा अक्सिजन लेभल ३५ भन्दा पनि कम भइसकेको थियो हामीले हरेष खाइसकेका थियौं, तर आमाले आत्मविश्वास राख्नुभयो। डाक्टर, नर्स र आफन्त, इष्टमित्रले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुभयो जसले गर्दा आमाले विश्व महामारी रुपलिएको कोरोनालाई जित्न सफल हुनुभयो।” कोरोना संक्रमण हुन नदिन भौतिक दुरी कायम गर्ने, माक्स पन्जा, फेससिल्ड प्रयोग गर्ने, बारम्बार हात धुने र सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेका छन्। कोरोना संक्रमणको प्राइभेट अस्पतालमा उपचार खर्च महंगो भएको हुँदा सर्वसाधारणले उपचार गर्न कठिन हुने उनले जानकारी गराएका थिए।









