जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ती प्रशासन गर्दै कास्की जिल्लामा मंगलबार देखि पूर्ण रुपमा लकडाउन हुने बताएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार कास्की जिल्लाभर लागुहुनेगरी वैशाख २१ गते विहान ५ बजेदेखि वैशाख ३१ गते राती १२ बजे सम्म लकडाउन हुने भएको छ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि वैशाख २१ गतेदेखि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन्।
लकडाउनमा तरकारी तथा फलफूल, खाद्यान्न आशिंक रुपमा खुलेपनि औषधि पसल भने २४ सै घण्टा खुल्ला रहने बताइएको छ। अन्य व्यापारिक पसल बन्द हुनेछन्। यस्तै, सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने लकडाउन सम्बन्धी आदेशमा उल्लेख छ।
जसमा, दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध, दही, माछा मासु विक्री गर्ने पसल र डिपार्टमेन्ट स्टोर्समा खाद्यान्न मात्र विक्री गर्न पाइनेछ। उक्त पसल विहान ५ः०० बजेबाट विहान ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ। तर अन्य पसल भने पूर्ण रुपमा बन्द भएको बताइएको छ।
उद्योग तथा सार्वजनिक निर्माण कार्यका काममा भने उद्योग तथा निर्माण नजिकै स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरि सञ्चालन गर्न पाइने छ।
निर्माण सामाग्री ढुवानीमा दिनको १ः०० बजेबाट ५ बजेसम्ममात्र सञ्चालन गर्न पाइनेछ।
नियम उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन २०२८, संक्रमण ऐन २०२० एवम् अन्य प्रचलित कानुन बमोजिम कारवाही गरिने बताइएको छ।